बागलुङ, १ साउन– संघियताको अभ्यासपछि पालिका तहमा खेलकुद विकास समिति गठन गर्ने प्रावधान बन्यो । तर सदरमुकामको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा समिति गठन भएको छैन ।
गलकोट नगरपालिकाले भने युवा तथा खेलकुद बिभाग गठन गरेर नियमित खेलका गतिविधि संचालन गर्दै आएको छ । आफ्नै समिति नभएपछि बागलुङमा भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको संचालनमा बागलुङ नगरपालिकाले जिल्ला खेलकुद समिति र विभिन्न विषयगत संघको सहयोगमा कार्यक्रम सम्पन्न गरेको थियो ।
राष्ट्रपति खेलकुद प्रतियोगिता पनि जैमिनी र बागलुङ नगरपालिकाले आँफै गरेका छन् । नगरस्तरीय समिति नहुँदा नगरले सबै काम जिम्मा लिनु परेको बागलुङ नगर शिक्षा शाखाका प्रमुख धनप्रसाद पोखरेलले बताए । ‘गठन गर्ने अधिकार तथ नगरमै छ, खै के मिलेको छैन’ उनले भने, ‘समिति गठन भएमा खेलका धेरै कार्यक्रम समितिले नै संचालन गर्ने थिए ।’
जैमिनीमा त खेलाडीहरुले समिति गठन नभएकोमा जनप्रतिनिधिको बिरोध गरेका छन् । बिहिबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा युवाहरुले तत्काल समिति गठन गर्न माग गरे । ‘जनप्रतिनिधि आएको ६ बर्ष पुगिसक्यो, खेलकुद समिति बनाउन सक्नुभएन’ खेलाडी अरबिन थापाले भने, ‘खेल क्षेत्र उपेक्षामा पर्दा युवाहरु दुव्र्यसनीमा परेका छन् ।’ खेलकुद समिति गठन गरेर विषयगत खेलको विकास गर्न सकेमा युवा पलायन रोक्न सकिने र दुव्र्यसनबाट बचाउन सकिने उनले बताए ।
जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले समिति गठन गर्न ढीलाइ भएपनि अबको बर्ष गठन हुने जानकारी दिए । ‘खेलका धेरै बिधा हुने भएकोले पालैपालो एकएक बिधामा सहयोग पनि गरेका छौं’ पुनले भने, ‘समिति गठन भयो भने समितिमार्फत क्रियाकलाप संचालन गर्न दिने नगरको नीति छ ।’ महत्वपूर्ण खेल क्षेत्रमा नगरपालिकले लगानी गरिरहेको भन्दै कतिपय खेलका बिधा भएपनि लगानी गर्न नसकिएको उनले बताए ।
गलकोट नगरपालिकामा भने बिशेषगरी भलिबल, बास्केटबल र केही मार्सलआर्टका खेलहरु नियमित हुने गरेका छन् । ती सबै खेल युवा तथा खेलकुद समितिले संयोजन गर्ने गरेको अध्यक्ष योगेश भण्डारीले बताए । उनले बिदेशमा बस्ने गलकोटेबाट समेत रकम संकलन गरेर बेला बेलामा खेलका गतिविधि गरेको जानकारी दिए ।