बागलुङ, ४ असोज– बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले सेवा केन्द्र स्तरीय साधारणसभा सुरु गरेको छ । जिल्लाभर मुख्य कार्यालयसहित चारवटा सेवा केन्द्र रहेको सहकारीले बलेवाबाट सेवा केन्द्र स्तरमा साधारणसभा सुरु गरेको हो ।
सहकारीको १३ औं साधारणसभा बागलुङ नगरपालिका–१३ पैञ्युपाटाको सेवा केन्द्रबाट सुरु गरिएको सहकारीका प्रबन्धक भरत पौडेलले बताए । बुधबार पैञ्युपाटा सेवा केन्द्रको साधारणसभामा बक्ताहरुले सहर बजारका सहकारी भन्दा गाउँमा स्थापना भएका सहकारी सदस्यमैत्री रहेको धारणा राखेका थिए ।
साधारणसभाको उद्घाटन सत्रमा बोल्दै सहकारीका अध्यक्ष इन्द्र प्रसाद शर्माले सहकारी नाफामा भन्दा सेवामा रमाउन सक्नुपर्नेमा जोड दिए । उनले बलेवा एकताले सदस्यको हितभन्दा पर कहिलै काम नगर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बागलुङ नगरपालिका–१३ का अध्यक्ष नारायण शर्मा पौडेलले सहकारीले सदस्य केन्द्रित कारोवार र सेवा गर्नुपर्ने बताए । कार्यक्रममा नेकपा एमालेका टेकबहादुर रोका, माओवादी केन्द्रका रेशमबहादुर खत्री, बलेवा बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष उमनाथ शर्मा, शेयर सदस्यहरूको तर्फबाट दिपेन्द्र पौडेलले बोलेका थिए ।
साधारणसभाले प्रेमबादुर रोकाको संयोजकत्वमा ९ सदस्यीय पैयुँपाटा सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उप–समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिका सह–संयोजकमा एकनाथ शर्मा, सचिव कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा निर्मला रोका क्षेत्री, सदस्यहरूमा भीमबहादुर खत्री, कमला शर्मा, गुमादेवी परियार, दलबहादुर कुँवर र कृष्णबहादुर रोका चयन भएका छन् ।
कार्यक्रम पैयुँपाटा सेवाकेन्द्र संचालन तथा व्यस्थापन उप–समितिका संयोजक प्रेमबहादुर रोकाको अध्यक्षता, सहसंयोजक एकनाथ शर्माको स्वागत, सचिव कृष्णप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका प्रवन्धक भरत पौडेलले सहकारीको बिषयमा जानकारी गराएका थिए ।