बागलुङ, १५ असोज– बागलुङ नगरपालिका स्वास्थ्य शाखाले जेष्ठ नागरिककालागि निशुल्क स्वास्थ्य उपचार शिविर सम्पन्न गरेको छ । जेष्ठ नागरिक दिवशको अबसर पारेर बागलुङ नगरपालिका वडा नंं. ३ को देउराली चोकमा ६० बर्ष काटेका नागरिकको स्वास्थ्य परीक्षण गरेर निशुल्क औषधी समेत बितरण गरिएको हो ।
अभियानको शुभारम्भ गर्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा नगरपालिकाले चासो बढाएको बताए । उनले जेष्ठ नागरिकको समाजिक सुरक्षामा पनि नगरपालिकाले ध्यान दिने भन्दै उनीहरुको उपचारमा अन्य समयमा पनि साथ दिने बताएका थिए ।
कार्यक्रममा नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले दिवशको अबसरमा शिविर संचालन गरेपनि अन्य समयमा नियमित उपचार सेवा र निशुल्क स्वास्थ्य परीक्षणको कार्यक्रमलाई अगाडि बढाइ रहने बताए ।
स्वास्थ्यकर्मी टोलमै पुगेर सेवा दिएपछि जेष्ठ नागरिकहरु खुसी भएका थिए । परीक्षण शिविरमा १ सयबढी जेष्ठ नागरिकले सेवा पाएको बताइएको छ ।