प्रतिकात्मक तस्बिर
बागलुङ, १५ असोज– जिल्ला प्रशासन कार्यालय बागलुङको अगुवाईमा सरोकारवाला संस्था समेतले बजार अनुगमन गरेका छन् ।
आइतबार भएको अनुगमनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, उपभोक्ता मञ्च, पत्रकार र उद्योग बाणिज्य संघको प्रतिनिधिले बजार अनुगमन गरेको हो ।
अनुगमनको क्रममा दर्जनबढी पसलमा पुग्दा अखाद्य बस्तुहरु भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए । ती पसलमा म्याद गुज्रेका बस्तु भेटिएका हुन् । यसरी भेटिएका बस्तुहरु एकीकृत गरेर नष्ट गर्ने काम भएको हो । कतिपय सामाग्री सम्बन्धीत कंपनीमा फिर्ता गर्ने गरी थुपारेर राखिएको छ ।
बजारमा बिशेषगरी पेय पदार्थ, प्याकेटमा आउने जंक फुड लगायतको म्याद गुज्रेको भेटिएको हो । कतिपय व्यवसायीको लापरबाहीले म्याद गुज्रेका सामान पसलमा भेटिएका थिए भने कतिपय कंपनीहरुले समय सकिनै लाग्दा सामाग्रीलाई बजार पठाएको भेटिएको हो ।
बियर, कोक तथा फेन्टा, जंग फुड र मसला समेत म्याद गुज्रेको भेटिएका हुन् । पहिलो पटक भेटिएकालाई चेतावनी दिएर सामान बरामद गरिएको छ भने कतिपय सामान नष्ट गर्ने र फेरीपनि भेटिएमा कानून बमोजिम जरिवानासमेत गरिने बरालले बताए ।
यो अभियानमा खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका खाद्य निरिक्षक साहन्सा कुमार महतो, उद्योग कार्यालयका प्रमुख पारसिं थापा, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, उद्योग बाणिज्य संघका प्रतिनिधि राजु गौतम सहभागि थिए ।
अनुगमन पछिको संयुक्त बैठकले चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिने, छड्के र व्यवस्थित अनुगमन समेत गरेर उपभोक्तालाई ठगिन तथा अखाद्यबस्तु सेवन गर्नबाट बचाउने काम गर्ने निर्णय भएको पर्यटन तथा उद्योग कार्यालयका सूचना अधिकारी बिष्णुनाथ शर्माले बताए ।