बागलुङ, १७ असोज– बरेङ गाउँपालिकाले ‘स्वच्छ बरेङ, स्वस्थ बरेङबासी अभियान’लाई सक्रियतापूर्वक साथ दिन आग्रह गरेको छ ।
गाउँपालिकाले चाडपर्व लगायत अन्य समयमा नागरिकको दैनिकी जीवनमा प्रयोग हुने आधारभूत खाद्यवस्तुहरु खरिद बिक्रीका क्रममा केहि समस्या देखिएकाले अभियानलाई साथ दिँदै त्यस्ता खाद्यवस्तुहरु खरिदबिक्री गर्न अपिल गरेको हो ।
आम नागरिकको स्वास्थमा ध्यान पु¥याउने अभिप्रायले पालिकाले संचालन गरेको ‘स्वच्छ बरेङ, स्वस्थ बरेङबासी अभियान’ अन्तर्गत बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यवस्तुहरु बढि मात्रामा फेला परेकाले व्यापारी र उपभोक्तालाई सचेत हुन आग्रह गरिएको अनुगमन समितिका संयोजक एवँ पालिकाका उपाध्यक्ष दिलिप पुनले बताए ।
समय समयमा गरिएका बजार अनुगमनबाट म्याद गुज्रिएका खाद्यवस्तुहरु बढि भेटिने गरेको र यस्ता खालका बस्तुलाई नष्ट गर्दै आईरहेको जानकारी दिदै उनले यस्ता कार्यले पालिकाको अभियानलाई सफल नहुने भएकाले अखाद्यबस्तु खरिद बिक्री नगर्न अनुरोध गरिएको बताए । आगामी दिनमा पनि यस्ता खालका समस्या देखिएमा नियमअनुसार कारवाहि हुने उनको भनाई थियो ।