तस्बिर : सुन्दर कुमार थकाली
बागलुङ, १९ असोज– मुस्ताङमा बिहिबार प्रथम कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । मुस्ताङ जिल्लाकै कृषि तथा पर्यटन प्रर्वद्धन र विकास गर्ने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाले घरपझोङ ‘कृषि तथा पर्यटन महोत्सवको आयोजना गरिएको हो ।
‘यसअघि मुस्ताङमा नफल्ने तरकारीहरु पनि किसानले फलाउन थालेका छन्, मौसम परिवर्तनको प्रभाव हुनसक्छ, मेलामा प्रदर्शनीमा राखिएका तरकारी हेर्दा मुस्ताङमा अब सबैखाले बर्खे तरकारी फल्न थाले भन्ने बुझ्न गाह्रो भएन्’ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भने ‘प्रतियोगितासमेत आयोजना भएकाले किसानका उत्कृष्ट उत्पादन मेलामा आएका छन्, किसानको उत्साह देखेर हामी दंग छौं ।’
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि र पर्यटनको विकास हुन नसके आर्थिक समृद्धि हासिल नहुने उल्लेख गरे । धार्मिक पर्यटनलाई लक्षित गरी गण्डकी सरकारले धार्मिक पर्यटन अघि बढाउन खोजेको मुख्यमन्त्रीको भनाई थियो ।
कार्यक्रममा संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, प्रदेश सभा सदस्य विकल शेरचन, संविधान सभा सदस्य श्रीमाया थकाली, प्रजिअ जनकराज पन्त, थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन, उपाध्यक्ष जमुना थकाली, नागरिक समाजका अगुवा चन्द्रबहादुर थकाली लगायतका बोलेका थिए । महोत्सव उद्घाटन समारोहमा मुस्ताङका विभिन्न धार्मिक तथा सांस्कृतिक नृत्य तथा प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।
घरपझोङ प्रथम कृषि तथा पर्यटन महोत्सव ३ दिनसम्म संञ्चालन हुने बताईएको छ । यसका लागि गाउँपालिकाको आपतकालीन भवनमा कृषि उपज सामाग्रीहरुको स्टल र प्रर्दशनी गरिएको छ भने सोही भवनमा जनहित विद्यालय अन्र्तगतका प्राविधिक धारका विद्यार्थीहरुले सृजना गरेका वैज्ञानिक सामाग्रीसमेत प्रर्दशनीमा राखिएको छ ।
यस्तै, गाउँपालिका प्राङ्गणमा मुस्ताङमा उत्पादित तथा प्रशोधित कृषि उत्पादनको विभिन्न सामाग्री प्रर्दशनी र बिक्री कक्ष राखिएको छ । महोत्सवमा मुस्ताङमा पालन गरिने याकचौरी र भेडाच्यांग्राको सुकुटी, फापरको ढिडो, लोकल उवाको रक्सी लगायत विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध गराईएको छ । महोत्सव अवधिभर मेला अवलोकन गर्ने पर्यटकहरुलाई गाउँपालिकाका विभिन्न पर्यटकीय गन्तब्यको जानकारी गराईने छ ।
एकै दिन दुई भवन उद्घाटन
घरपझोङ गाउँपालिकामा निर्माण भएका दुई भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन र गाउँपालिकाले निर्माण गरेको आपतकालिन भवनको मुख्यमन्त्री पाण्डेले एक उद्घाटन गरेका हुन् ।
संघीय सरकार, गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लगानीमा तीन बर्षदेखि निर्माणाधिन प्रशासकीय भवन केही महिना पहिला तयार भएको थियो । झण्डै ८ करोड रुपैयाँ खर्चेर गाउँपालिकाको प्रशासकीय भवन तयार भएको हो । भवन उद्घाटनअघिनै गाउँपालिकाले प्रशासकीय काम नयाँ भवनबाट सुरु गरेको थियो ।
भवन तयार भएपछि दैनिक प्रशासनीक कार्यसम्पादनमा सहज हुनुका साथै सर्वसाधारणले सहज हिसाबले सेवा पाउने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । ‘हाम्रो महत्वपूर्ण काम सम्पन्न भएको छ, हिमाली जिल्लामा भवन निर्माणको काम कठिन काम हो’ लालचनले भने ‘भवनबाट उच्च मनोवलका साथ कर्मचारीहरुले सेवा प्रवाह गर्नुहुने छ ।’
गाउँपालिकाले बिपत्का बेला सर्वसाधारणले आश्रय लिन सक्नेगरी आपतकालिन भवन निर्माण गरेको छ । भवन निर्माणका लागि दुई करोड रुपैयाँ खर्च भएको थियो । गण्डकी प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा उक्त भवन तयार भएको हो ।