बागलुङ, २३ असोज– भदौ पहिलो मंगलबार बलेवामा सञ्चालित ‘दोस्रो हरेलो मेला’को आयव्यय सार्वजनिक भएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर हिसाब सार्वजनिक गरेको हो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको प्रसिद्ध कालभैरवको प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि समितिले हरेलो पर्वको अबसरमा मेला आयोजना गरेको थियो । हजारौं आन्तरिक पर्यटक भैरवस्थान पु¥याउने, भैरवस्थानसम्म पूग्ने सडक लगायत अन्य विकासका पूर्वाधारमा सरोकारवालाको ध्यानाकर्षण हुनुलाई उपलव्धीमा राखिएको छ ।
मेलामा १० लाख ७३ हजार रुपैयाँ आम्दानी र ६ लाख २५ हजार रुपैयाँ खर्च भएको बिबरण सार्वजनिक भएको छ । मेलाबाट ४ लाख ४७ हजार ५ सय १० रुपैयाँ बचत भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । ‘बचेको रकम मन्दिर परिसरमा संरचना निर्माणका लागि खर्च गर्छौं’ ढकालले भने ।
मेलाका लागि बागलुङ नगरपालिकाले ४ लाख, ग्लोबल आईएमई बैंकले १ लाख जैमिनी तथा कुश्मा नगरपालिकाले २०÷२० हजार रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै बिभिन्न व्यक्ति तथा संस्थाबाट ५ लाख २२ हजार दश रुपैयाँ संकलन भएको थियो ।
मेलामा सबैभन्दा धेरै कलाकारको पारिश्रमिक र खाना खाजामा खर्च भएको छ । एक दिनको लागि मात्रै कलाकारको खाना खाजामा २३ हजार र पारिश्रमिक ८२ हजार रुपैयाँ खर्च भएको छ । गत बर्ष पहिलो हरेलो मेला आयोजना गर्दा लागेको एक लाख ३० हजार रुपैयाँ ऋण समेत समितिले भुक्तान गरेको छ ।