बागलुङ, २९ असोज– नवदुर्गा सुरुभएसँगै बागलुङमा खसीबोकाको मोलमोलाई सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय कुखुराको मासुको मुल्य केही बृद्धि हुँदा दशैंको समयमा खसीबोकाकै माग बढ्दो छ ।
हिमालपारीबाट आउने च्याङ्गाको मुल्य प्रतिगोटा आठदेखि दश हजार मुल्य बृद्धि भएको छ । अघिल्लो बर्ष ४० हजारसम्म पाईएको च्याङ्ग्रा यो बर्ष ५० हजार बढी पर्ने व्यवसायी बताउँछन् । तर यो दशैंमा स्थानीय खसीबोकाको मुल्यमा भने अघिल्लो बर्षको भन्दा घटबढ छैन् ।
चिनबाट मुस्ताङको बाटोहुँदै आउने च्याङ्ग्रा यो बर्ष नेपाल भित्रिएनन् । कोरला नाका नखुलेकाले चिनका च्याङ्ग्रा नेपाल नभित्रिँदा मुल्य बढेको व्यवसायी बताउँछन् । ‘दशैं अघिकै भाउमा स्थानीय खसीबोकाको कारोवार भएको छ, बजारमा एक किलो स्थानीय खसीको मुल्य १ हजार एक सय छ, जुन मुल्य अघिल्लो दशैंमा पनि थियो’ बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीका तिलक पौडेलले भने ‘कुखुरा र च्याङ्गाको मुल्य बढेपनि स्थानीय खसीबोकाको मुल्यमा खास बृद्धि भएको छैन् ।
खसीबोकाको मासुको मुल्य तोक्ने निकायले ध्यान नदिँदा बर्षौं एउटै मुल्यमा खसीबोका बिक्री गर्नुपरेको किसानको गुनासो छ । ‘च्याङ्ग्राको मुल्य हरेक बर्ष बढ्दो छ, सबैले किनेर खाएकै छन्, यहाँ किसानले दुःख गरेर उत्पादन गरेको खसीबोका दशैंका बेला ओझेलमा पर्छन्’ जैमिनीकै किसान भीम शर्माले भने ‘व्यवसायीक उत्पादनमा लागेका किसानलाई समस्या छ ।’
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङका अनुसार बागलुङ मासुमा आत्मानिर्भर छ । आर्थिक बर्ष २०७८÷०७९ को तुलनामा २०७९÷०८० मा बाख्राको उत्पादन मात्रै १.३३ प्रतिशतले बढ्दो छ । २०७८÷०७९ मा १२ लाख ७४ हजार खसीबोका र बाख्रा उत्पादन भएको जिल्लामा २०७९÷०८० मा १२ लाख ९१ हजार खसीबोका उत्पादन भएको तथ्यांक छ । भेडाको समेत राम्रो उत्पादन हुने बागलुङमा ०.३३ प्रतिशतले उत्पादन बढेको बिज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले बताए ।
दशैंमा भैंसी, राँगा, बंगुर हाँस र खरायो लगायतका पशुचौपायको मासु प्रयोग हुने गरेको छ । ‘पहिले दशैंका बेला मधेशबाट खसीबोका आउँथ्यो अहिले त्यो बन्द भएको छ, बागलुङ बजारमा गाउँबाट खसीबोका आउँछन्’ उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले भने ‘स्थानीय उत्पादन प्रयोगमा आउनु राम्रो पक्ष हो ।’