बागलुङ, ३० असोज– गलकोट नगरपालिकाले किसानको फलफूल तथा तरकारीमा उत्पादनमा आधारित कृषि अनुदान दिने योजना अगाडि सारेको छ । ३ सय केजीभन्दा बढी उत्पादन गर्नेलाई प्रतिकेजी ३ रुपैयाँ अनुदान दिने कार्यक्रम अगाडि ल्याएको गलकोट नगरपालिका वडा नं. २ का अध्यक्ष तथा सामाजिक विकास समितिका अध्यक्ष हिमबहादुर भण्डारीले बताए ।
किसानको उत्पादनलाई बजारी करणमा सघाउन नगरपालिकाले गलकोटकै गौमुखी कृषि सहकारी संस्थाको सहकार्यमा ११ वटा स्टल बनाएर बिक्रीका लागि कृषि हाटबजार समेत संचालनमा ल्याइएको छ । हाटबजारमा किसानले आफ्नो उत्पादन बेञ्न पाउने छन् । त्यसरी बिक्री गर्दा वार्षिक ३ सय केजी सम्मको तरकारी बिक्री गर्न सकेका किसानलाई प्रतिकेजी ३ रुपैयाँ अनुदान दिंदा किसानहरु उत्पादनमा उत्साहित हुने सहकारी संस्थाकी अध्यक्ष शिवकला खत्रीले बताइन् ।
नगरपालिकाले किसानको उत्पादन बिक्री गर्ने स्टलसमेत उपलब्ध गराउने छ । गलकोट नगरपालिका वडा नं. ३ को हटिया बजारमा उक्त बिक्रीकेन्द्र स्थापना छ ।
गलकोट नगरपालिकाले १० लाख लगानीमा व्यवसायिक स्टल निर्माण गरेको हो । गलकोटमा पछिल्लो समय व्यवसायिक कृषिमा लाग्नेहरु बढेका छन् । उनीहरुले बजार व्यवस्थापनको माग गर्दै आएका थिए । किसानको मागअनुसार हाट बजार बनाएर बिक्रीको अबसर बनेको नगरपालिकाका उपप्रमुख फमलाल निउरेले बताए । यो अबसरले गलकोटमा कृषि उत्पादन बढाउन योगदान हुने उनले बताए ।
त्यसबाहेक फलफूल, पशुपालन लगायतका अन्य उत्पादनमा पनि नगरपालिकाले अनुदान दिने व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले बताए । ४ सयसम्म बाख्रापालन गरेका पशुपालन फर्म, दैनिक तीनदेखि चारसय केजीसम्म तरकारी बेच्ने प्लाष्टिकका टनेल र हाइटेक यहाँ स्थापना भएका छन् । गलकोट नगरसँगै छिमेकी गुल्मीसम्म पनि उत्पादन बिक्री हुने गरेका छन् ।
नगरपालिका र गौमुखी कृषि सहकारीले संचालन गरेको गौमुखी हाटबजार आइतबार गण्डकी प्रदेशका कृषि, सहकारी तथा गरिवि निवारण मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका छन् । उनले प्रदेश सरकारले पनि उत्पादनमा आधारिक कृषि अनुदान नीति ल्याएर काम गर्ने किसानको प्रोत्साहन गर्ने बताए ।