बागलुङ, १ कात्तिक– इमेज बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै निरन्तर आन्दोलनरत बचतकर्ताहरुले मंगबवार सिठी जुलुस गरेका छन् । उनीहरुले राज्यको समेत ध्यानाकर्षण गराएर पीडितको पक्षमा साथ दिनुपर्ने बताए ।
इमेज सहकारीको कार्यालय रहेको हल्लनचोकदेखि बजारका बिभिन्न चोकमा पुगेर उनीहरुले सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख रहेका देवकुमार नेपालीबिरुद्व चर्का नारा लगाए । उनीहरुले राज्यले सहकारीका अध्यक्ष र नगरप्रमुख भएको मानिसलाई खोज्न नसकेको आरोप लगाए ।
गत बैशाखमा डेढ अर्ब रकम हिनामिनापछि भागेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली अभैm राज्यको सम्पर्कमा छैनन् । पीडितहरु ६ महिनादेखि सडकमा संघर्षरत छन् । बागलुङमा मात्रै झण्डै १ हजार ५ सयबढी उक्त सहकारीबाट पीडित छन् । पीडितले कहिले सिठी जुलुस गर्छन्, कहिले कोणसभा त कहिले धर्ना बस्ने गरेका छन् । ठगलाई कारवाही गर्नुपर्ने, पीडितको रकम फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै उनीहरुले निरन्तर बिरोध जुलुस गर्दै आएका छन् ।
आफ्नो दैनिकी चलाउन धौधौ भएको भन्दै राज्यले व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । गत बैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । शुरुमा तरलता अभाव देखाएको सहकारीले अन्ततः पैसा हिनामिना पारेपछि बन्द गराएको हो ।
सहकारीका अध्यक्ष नेपाली कता छन् भन्ने राज्यलाई थाहा नहुनु बिडम्बना भएको संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताए । पीडितहरुले जुनसुकै कार्यक्रममा पुग्दा पनि मञ्चमा उभिएर सहकारी पीडितको आवाज राज्यले नसुनेको गुनासो गर्छन् । कसैले मिलेमतोमा राज्यले सहकारीका अध्यक्ष र पदाधिकारीलाई लुकाएको आरोप पनि लगाउने गरेका छन् ।
सहायक प्रजिअ चित्राङगत बरालले नेपालको बिमानस्थल प्रयोग भएर कतै गएको रेकर्ड नभएको बताए । जेठ पहिलो साताबाटै कडाइ गर्दा पनि नेपाली बेपत्ता भएका हुन् । उनीबिरुद्ध प्रशासनले डेढ महिनाअघिनै गृहमन्त्रालयमा रेडकर्नर नोटिस जारी गरिदिन सिफारिस गरेको थियो ।
नेपालीसहित उनकी पत्नि र सहकारीका संचालकबिरुद्ध सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन् ।