बागलुङ, १५ कात्तिक– किसान र उपभोक्ता ठगिने र व्यवसायीले अत्याधिक नाफा खाने व्यवसाय नियन्त्रण गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले व्यवसायी पलायन नहुने, तर निश्चित नाफा मात्र खाने व्यवस्था हुनुपर्ने बताए ।
उपभोक्ता हित समन्वय समितिको बैठकमा सहभागि सरोकारवालाको सुझावले बजारमा सबै उपभोग्य बस्तुको अनिवार्य मूल्यसूचि राख्ने निर्णय गरेको छ । आम उपभोक्तालाई पनि मूल्यसूचि, उत्पादन मिति र अखाद्य बस्तु भएमा राम्रोसँग बुझेर मात्र खरिद गर्न समितिले आग्रह गरेको छ ।
लेबल नभएको बस्तु बिक्री नगर्न पनि व्यवसायीलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए । मंगलबार बसेको समितिको बैठकले मिठाइ तथा परिकारमा अखाद्य रंग प्रयोगमा रोक लगाउने, खरिद मूल्यभन्दा अस्वभाविक मूल्यमा बस्तु बिक्री गरे नगरेको सुक्ष्म रुपमा अनुसन्धान गर्ने निर्णय पनि गरेको हो ।
बैठकले अखाद्य बस्तु नियन्त्रण गर्ने, आम उपभोक्तालाई पनि सो बिषयमा सचेतना जगाउने निर्णयसमेत गरेको हो । खरिद मूल्यभन्दा अस्वभाविक मूल्यमा बस्तु बिक्री गर्नेलाई नियन्त्रण गर्ने बैठकको निष्कर्ष छ । ‘युरियाको बोरामा खाद्यबस्तु राखेर ल्याएको पनि भेटिएका छन्, त्यस्तो गर्नेलाई कारवाही गर्नैपर्छ’ बरालले भने, ‘आम नागरिकको स्वास्थ्यमा ज्यादती गर्न मिल्दैन ।’
तिहार नजिक आइरहेकोले बजारमा पटका तथा बिष्फोटक पदार्थ भित्रने भएकोले त्यसका लागि पनि अनुगमन बढाउने समितिले निर्णय गरेको हो । औषधि पसलमा भैरहेको मनपरी नियन्णण गर्न समितिले काम थाल्ने भएको छ ।
‘मापदण्ड अनुसार औषधि पसल छन् की छैनन्, त्यो खोजी गर्ने पहिलो काम हुनेछ’ प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘लागूऔषध बिक्री भए नभएको पनि खोजी हुनेछ ।’ औषधि व्यवस्था विभाग र स्वास्थ्य कार्यालयको सहकार्यमा औषधी पसलको अनुगमन र कारवाही गर्ने उनले बताए ।
अघिल्ला बर्ष साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी र नुन लगायतका सामाग्री सुपथ मूल्यमा बेच्ने गरेकोमा यो बर्ष बिक्री गरेन । यो बर्ष बिक्री नभएकोले स्थानीय तहले आफ्नो पालिकामा सुपथ मूल्य पसल चलाउन चाहेमा साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा अनुरोध गर्ने निर्णय गरेको हो । त्यसका लागि चामल, दाल, नुन, तेल, चिनी लगायतका समाग्रीको व्यवस्थापनमा समितिले पहल गर्ने छ ।
बजारमा कुखुराको मासुमा किसानबाट ल्याएर अत्याधिक मूल्य राख्ने गरेको बिषयमा समितिको ध्यानाकर्षण भएको थियो । २ सय ५० देखि २ सय ६० रुपैयाँमा ल्याएको कुखुरा काटेर बेच्दा ४ सय ६० रुपैयाँमा बेच्ने गरेको भन्दै मूल्य समायोजनमा भूमिका खेल्ने समितिले निर्णय गरेको हो ।