बागलुङ, १७ कात्तिक– नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले संविधान र संघियता ठिक छैन भन्ने तत्वबिरुद्ध लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रबार कांग्रेस जिल्ला सम्मेलनको उद्घाटन गर्न आएका देउवाले पछिल्लो समय आइरहेका अफवाहप्रति विश्वास नगर्न पनि कार्यकर्तालाई आग्रह गरे ।
‘हामी देशकै ठूलो पार्टी भएकोले हामीले संयम अपनाएर संविधान बिरोधी शक्तीलाई ठेगान लगाउनु पर्छ’ उनले भने, । संघियता र संविधानमा आएका समस्या समाधान गर्ने काममा कांग्रेसले अगुवाइ गर्ने उनले बताए ।
सम्मेलनमा भाग लिन जिल्लाका दशवटै पालिकाबाट १ हजार ६ सय क्षेत्रीय प्रतिनिधि सहित अन्य कार्यकर्ता गरी दुइ हजारजना सदरमुकाम आएका थिए । सम्मेलनमा कांग्रेसले १ सय ५ जना ७५ बर्ष काटेका जेष्ठ कार्यकर्ता र सशष्त्र द्वन्द्व तथा अन्य आन्दोलनका सहिद परिवारलाई पनि सम्मान गरेको छ । दुइ दिनसम्म चल्ने सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मा सहितका नेताले प्रशिक्षण गर्ने पार्टी सभापति जितबहादुर शेरचनले बताए ।
कार्यक्रममा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मधु आचार्य, अर्जुन जोशी, किरणराज पौडेल, चम्पा खड्का, कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा, केन्द्रीय सदस्य सरस्वती तिवारी, पूर्व सभापति गोबिन्दप्रसाद शर्मा कंडेल, दिपेन्द्रबहादुर थापा, कांग्रेस नेता जगदिशचन्द्र उपाध्याय लगायतले बोलेका थिए । सभापति जितबहादुर शेरचनको सभापतित्व, सचिवहरु हरिहर शर्मा र गण्डकी थापाको संचालन र उपसभापति तारानाथ पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सम्मेलन दुइ दिन चल्नेछ ।