म्याग्दी, २६ कात्तिक– मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् ।
मिङ्मार गुरुङको खोरमा पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएको वडा सदस्य ङवाङ छवत्तर गुरुङले जानकारी दिनुभयो ।
रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्याङ्ग्रा मारेको जानकारी दिदै उहाँले यसबाट ३० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको बताउनुभयो ।
वडा सदस्य गुरुङका अनुसार केही च्याङ्ग्राको आन्द्राभुँडी निकालेर छाडेको छ भने धेरैको रगत खाएर मारेको छ । घाइते च्याङ्ग्राको पनि मृत्यु भएको वडा कार्यालयले जनाएको छ । मुस्ताङमा हिमचितुवाले पु¥याएको यो अहिलेसम्मको ठूलो क्षति भएको जनाइएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय लोमान्थाङ र चराङ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुग्नु भएको थियो ।
ढाक्मर गाउँको पश्चिमतर्फको ठूलो रातो पहाडको ओढारमा हिमचितुवाको बासस्थान रहेको स्थानीय छिरिङ गुरुङले बताउनुभयो । गत वर्ष मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट १९ कृषकको ६५ पशु मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र वन डिभिजन कार्यालय मुस्ताङको तथ्याङ्क रहेको छ ।