प्रतिकात्मक तस्बिर
म्याग्दी, १ मंसिर– घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति गरिएपछि यात्रा अवधि छोटियो, सडक स्तरोन्नतीपछि स्थानीय तथा पर्यटकलाई आवतजावत गर्न सहज,
म्याग्दीको पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति गरिएपछि यात्रा अवधि छोटिनाका साथै सहज र सुरक्षित पनि भएको छ ।
बाटो खुलेको करिब १५ वर्षपछि सडक ग्राभेल, ढलान र कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तार, घुम्ती तथा मोड निर्माण र ग्रेड सुधार भएपछि यात्राअवधि छोटिएको स्थानीय चालक विश्वास खत्रीले बताए ।
‘पहिला पोखरेबगरदेखि घोडेपानी पुग्न तीन घण्टा लाग्दथ्यो’ उनले भने ‘अहिले एकै घण्टामा पुगिन्छ भने दुर्घटनाको जोखिम पनि कम भएको छ ।’
१८ दशमलव ५४ किलोमिटर दूरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–फलातेहँुदै पर्यटकीय बस्ती घोडेपानी नजिकैको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७५ मंसिरमा ठेक्का सम्झौता गरेको थियो ।
प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालय अन्तर्गतको कास्कीस्थित स्थानीय पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण गरिएको सोे आयोजनाका लागि मोतीदान–जयमाता जेभीले २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले सडक आयोजनाका अधिकांश काम सकिएको बताए । ‘डिबिएसडी प्रविधिको कालोपत्रे गर्नेुपर्ने बिरौटा बाहेकको ठाउँमा दोस्रो कोड पनि भइसक्यो’ खत्रीले भने ‘ढलान, ग्राभेल र सोलिङको काम यसअघिनै सकिएको छ ।’
२०७७ जेठ २२ गते सक्ने सम्झौता भएको आयोजनाका लागि निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूवनोट हुनु, प्राकृतिक विपत्ति आइपर्नुलगायत कारणले लक्ष्यभन्दा तीन वर्षपछि पूरा हुन लागेको हो ।
सडक निर्माणपछि स्थानीय तथा पर्यटकलाई आवतजावत गर्न सहज भएको अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रामबहादुर खड्काले बताऐ ।