बागलुङ, ६ मंसिर– सानै उमेरदेखि आफ्नो मुटु आँफैले बचाउनु पर्ने चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रका अभियानकर्मीले बताएका छन् । उनीहरुले मुटु जोगाउन खानपान, आनीबानीमा सुधार हुनुपर्ने समेत बताए ।
बालबालिकाले जंगफुट नखाने, बयस्कले चुरोट, रक्सी नखाने र मधुमेह तथा कोलेस्टेरोल बढ्न नदिए मुटु जोगाउन सकिने चिकित्सकको सुझाव छ । नेपाल ह्दयरोग निवारण प्रतिष्ठान बागलुङ शाखाको आयोजनामा मंगलबार भएको निशुल्क मुटु परीक्षण शिविरमा चिकित्सकहरुले बालबालिका र वयस्कलाई पनि खानपान र बानीव्यवहार परिवर्तनका लागि सुझाव दिएका थिए ।
मुटुरोग बिशेषज्ञ डाक्टर सहितको टोलीले मंगलबार बागलुङस्थित कालीका कन्या माबिमा शिविर सम्पन्न भएको थियो । शिविरमा ३ सय १० जना बालबालिकाको मुटु परीक्षण भएको शाखा सभापति जगदिशचन्द्र उपाध्यायले बताए । शिविरका लागि रोटरी क्लब अफ पाटन, रोटरी क्लब अफ बागलुङ र कालीका कन्या माबि व्यवस्थापन समिति र शिक्षक समेतको सहयोग थियो ।
परीक्षण गरेका अधिकांसको मुटु स्वस्थ्य भेटिएको बरिष्ठ मुटुरोग बिशेषज्ञ तथा नेपाल ह्दयरोग प्रतिष्ठान केन्द्रीय समितिका पूर्व सभापति प्रकाशराज रेग्मीले बताए । रेग्मी नेतृत्वमा मुटरोग बिशेषज्ञहरु डा. प्रेमराज बैद्य र डा. उर्मिला शाक्यसहित २० स्वास्थ्यकर्मी सहभागि थिए ।
परीक्षण गरेका बालबालिकामध्ये १० जनालाई थप उपचारका लागि बोलाइएको छ । शिविरमा मुटुको इको सहितका सेवासमेत दिइएको थियो । उक्त अवसरमा डा. रेग्मीले बालबालिकामा जन्मजात र खानपान लगायतले मुटु सम्बन्धी रोग लाग्ने बताए । जन्मजात समस्या भएकालाई उपचारबाट निको बनाउन सकिने उनले जानकारी दिए । खानपान वा टन्सिल पाकीरहने अवस्था भएका बालबालिकामा पनि मुटुरोग हुन सक्ने उनले बताए । एन्टिबायोटिक औषधी सेवन नगरी घरेलु प्रविधिमा टन्सिल पाकेको उपचार गर्न खोजेमा मुटुमा समस्या आउने उनको धारणा थियो ।
बालबालिका उमेरमै मुटु स्वस्थ्य राख्ने अवस्था भएमा पछिसम्म मानिस स्वस्थ्य हुने चिकित्सकहरुले बताए । मुटु स्वस्थ्य नभएमा तत्काल अपरेशन गर्नुपर्ने अवस्था आउने उनीहरुको मत छ । अहिलेसम्म मुटु प्रत्यारोपण नहुने भएकोले जोगाउने उपाय नै महत्वपूर्ण भएको शिविरमा सहभागि डा. उर्मिला शाक्यले बताइन् ।
‘पछिल्लो समय बालबालिकामा मोटोपन बढ्नु, जंगफुड खानु र स्वास्थ्यबारे चासो नराख्नुले मुटुमा समस्या आउने गर्छ’ उनले भनिन्, ‘प्रारम्भिक परीक्षणमा मुटुको चाल बुझेपछि समस्या भएको पत्ता लगाउन सकिन्छ ।’ त्यसपछि मुटुको इको लगायतका डायलायसिस पद्दती गरेर उपचार गर्ने उनले बताइन् ।
शिविर शुभारम्भ कार्यक्रममा प्रतिष्ठानका उपसभापति डा. रामबहादुर केसीले धौलागिरि क्षेत्रमा मुटुरोग उपचार केन्द्र नभएकोले दैनिक जसो मुटुका बिरामीले हजारौं खर्चेर सहरी क्षेत्र जान बाध्य भएको बताए । ‘धौलागिरि अस्पतालमा मुटुरोग उपचार केन्द्र स्थापना गर्नैपर्छ’ केसीले भने, ‘समयमा उपचार नभएर मृत्यु हुने दर घटाउन केन्द्र आवस्यक छ ।’ उनले अस्पताल व्यवस्थापन, जिल्लाका जनप्रतिनिधिको पहल भएमा केन्द्र स्थापना सहज हुने बताए ।
प्रतिष्ठानका सभापति जगदिशचन्द्र उपाध्यायको अध्यक्षता, सचिव शालिकराम शर्माको संचालनमा सम्पन्न कार्यक्रममा कालीका कन्या माबिका प्रअ धनराज सापकोटा र बिशेषज्ञ डा. प्रकाशराज रेग्मीले बोलेका थिए । उक्त अवसरमा रेग्मीले नेपालमै कुल बिरामीको १५ प्रतिशत मुटुको बिरामी भएको तथ्यांक जानकारी गराएका थिए ।
यसैबीच सोमबार बिशेषज्ञ टोलीले गलकोटमा पनि मुटु परीक्षण शिविर सम्पन्न गरेको थियो । शिविरमा गलकोट नगरपालिका–३, ७ र ९ का एक हजार बढीको मुटु परीक्षण भएको थियो । गलकोट माबि हटियामा भएको शिविरमा ४ सय ८५, गलकोट इङिलस बोर्डिङमा ४ सय २५ र ७० बर्ष माथिका १ सय ७१ जनाको मुटु परीक्षण भएको थियो । तीमध्ये अपरेशन गर्नुपर्ने २ जनालाई काठमाण्डौंमा बोलाइएको थियो । शिविरका लागि गलकोट नगर अस्पताल, मल्ल र हटिया स्वास्थ्य चौकीले सहयोग गरेका नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले जानकारी दिए ।