बागलुङ, ७ मंसिर– ग्रामीण स्वास्थ्य सुधार परियोजना संचालन गरेको फेयरमेड फाउण्डेसन र भिमापोखरा युवा क्लबले गलकोट नगर अस्पतालमा स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरेको छ ।
नगर अस्पतालका लागि बर्थिङ सेन्टर संचालनका लागि चाहिने उपकरण र सामाग्री सहयोग गरेको हो । वर्थिङ सेन्टका लागि मायो फेटल हर्ट रेट मोनिटर एकथान, क्रायस क्याटर ट्रली एकथान, मोर्डन डेलीभर बेड एक थान, इलेक्ट्रक सक्सन १ थान र ह्यान्डहिल्ड पल्स अक्सिमटर १ थान सहयोग गरिएको हो । त्यस्तै, फोटो थेरापी मेसिन एक थान पनि सोही अजसरमा हस्तान्तरण गरिएको हो ।
फेयरमेड फाउण्डेसनकी निर्देशक निर्मला शर्मा, कार्यक्रम परियोजना अधिकृत गणेश बरुवाल र बिवाइसीका अध्यक्ष मणीभद्र शर्माले उक्त सामाग्री अस्पतालका प्रमुख डा. राजेश पौडेललाई हस्तान्तरण गरेका थिए । स्वास्थ्यको पहुँचमा नपुगेका ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने, गाउँका महिलाले पनि सुरक्षित सुत्केरी हुने अवसर पाउनुपर्ने लगायतका कारणले यस्ता सामाग्री हस्तान्तरण गरिएको उनले बताइन् ।
सामाग्री हस्तान्तरणपछि अस्पतालका डा. पौडेलले स्वास्थ्य सामाग्रीले सेवा प्रवाहमा अझै सहयोग पुगेको बताए । ‘अस्पतालमा सकेसम्मका अधिकतम सेवा दिने प्रयास गरेका छौं’ पौडेलले भने, ‘यो सहयोगले झनै गुणस्तरीय सेवा दिन सकिने भयो ।’
अस्पताल व्यवस्थापन समितिको तर्फबाट नगर प्रमुख भरत शर्मा गैरेले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको सुधारमा सहयोगीको हात रहेको बताए । नगरपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि बिशेष कार्यक्रम समेत संचालन गरेको छ ।
स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गरेर सुत्केरी भएमा महिलालाई नगरपालिकाले ४ हजार ५ सय रुपैयाँ थप पोषण खर्च दिने गरेको छ । नगरप्रमुख गैरेको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सुशिला पौडेलको संचालनमा हस्तान्तरण कार्यक्रममा बिवाइसीका अध्यक्ष मणीभद्र शर्मा, वडा नंं ५ का अध्यक्ष पवन हमालले बोलेका थिए ।