बागलुङ, ७ मंसिर– तीन महिना अघिसम्म निसेल ढोर जाने पर्यटकले फोन गरेर घरमा खबर समेत गर्न सक्थेनन् । अहिले ढोरपाटनमा फोर जी चल्छ । भ्रमणमा निस्केकाहरुले अहिले ढोरपाटन पुगेर सामाजिक संजालबाट लाइभ देखाउँछन् ।
नेपाल टेलिकम बागलुङ शाखाले दुर्गम र पर्यटकीय क्षेत्रमा फोर जी चलाउने अभियान संचालन गरेपछि ढोरपाटनको यो समस्या हटेको हो । त्यसबाहेक मध्यपहाडी लोकमार्गको रुकुम सिमानामा पर्ने पाती हाल्नेमा पनि अहिले फोन र फोर जी संचालनमा आएको छ ।
‘निसीखोला गाउँपालिका–५ को ३ हजार ७ सय मीटर उचाइको लेकमा पुगेर टावर स्थापना गरेपछि पातीहाल्ने र निसेलढोरमा फोन संचालनमा आएको हो’ टेलिकमका प्रमुख केशव शर्माले भने, ‘गोठमा गएका घरका सदस्यलाई फोन गर्न पाएर गाउँले खुसी भए ।’ गोठमा गएका घरका सदस्यलाई महिनौंसम्म सम्पर्क गर्न नसक्दा स्थानीय निराश थिए ।
फोन गर्न दुइ घण्टा हिंडेर टावर टिप्ने ठाउँ खोज्नेहरु अहिले घरगोठमा बसेर बोल्न पाएकोमा खुसी छन् । स्थानीय वीरबहदुर घर्तीले भने, ‘गोठमा झुण्डाएर राखेको फोन बज्यो, म त दंगै परें ।’ टेलिफोन टिपेको खुसीयालीमा घर्तीका छिमेकीले अबिरजात्रा गरेर खुसीयाली समेत मनाए । उनीहरुले टेलिकमका कर्मचारीलाई पनि सम्मान गरेर पठाए ।
‘टावर स्थापना गरेपछि फोन टिप्न थाल्यो, फोर जीका लागि भने बिद्युत अभाव छ’ शर्माले भने, ‘सोलारबाट बिद्युत दिइएकोले क्षमता कम भएको हो ।’ फोर जी चलाएमा बिद्युत कम हुने र टु जी चलाए नियमित फोन चलाउन सकिने उनले बताए । राष्ट्रिय प्रशारणको बिद्युत पुगेपछि भने २४ सै घण्टा फोर जी चलाउन सकिनेछ । ३ हजार ७ सय मीटर उचाइको भएकोले नियमित पानी पर्ने, कुहिरो लाग्ने हुँदा सोलार चल्न नसकेको हो ।
पर्यटकीय क्षेत्रमा फोर जी चल्न थालेपछि बागलुङकै ताराखोलाको ठूलो हिले, तमानको सोलेडाँडा, बराहताल तथा म्याग्दीको गुर्जा पुग्नेले फोटो भिडियो सामाजिक संनजालमा पोष्ट गर्छन् । ती स्थानमा फोन पनि लाग्ने थिएन । अहिले यी पहाड, जंगल र खोंचमा पनि सजिलै इन्टरनेटको सुबिधा पुगेको छ ।
नेपाल टेलिकमको बागलुङ कार्यालयले बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक, पर्यटकीय क्षेत्र तथा पहाडी पदमार्गमा थ्री जी र फोर जी सेवा बिस्तार गरेको हो । यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्केका पर्यटकलाई सुरक्षा अनुभव दिएको छ । ‘कम्तिमा १० देखि १५ घरबस्ती भएको स्थानदेखि पदमार्ग, राजमार्ग र सार्वजनिक महत्वको क्षेत्रमा मज्जाले इन्टरनेट टिप्छ’ शर्माले भने, ‘यो व्यवस्थापछि धेरैले गाउँमा सुरक्षा अनुभूति गरेका छन् ।’ बिशेषगरी म्याग्दी र मुस्ताङका उपभोक्ताले दुर्घटना पछिको खोजी उद्दार, प्रसुती सेवा र पर्यटकको सुरक्षामा बढी राहत महसुस गरेको शर्माले बताए ।