बागलुङ, ८ मंसिर– अबैध हतियार बोकेर संरक्षित जनावरको सिकार गर्न हिंडेका ३ जना चोरी सिकारी पक्राउ परेका छन् । आरक्षमा अबैध सिकार गर्दैै हिंडेका उनीहरुलाई आरक्षले पक्राउ गरेको हो ।
बार्से सिकार ब्लकमा पक्राउ परेका तीन जनालाई आरक्ष कार्यालयले ७ दिनको म्याद थप गरी अनुसन्धान थालेको बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्रराज कंडेलले बताए । बरिष्ठ संरक्षण अधिकृत कंडेलको नेतृत्वमा नेपाली सेनाको देवी बक्स गुल्मका सुरक्षाकर्मीले कार्से ब्लकमा गरेको सर्च अभियानमा मंगलकार उनीहरु भेटिएका हुन् ।
पक्राउ पर्नेमा म्याग्दीको धौलागिरि गाउँपालिका गुर्जाखानीका ५२ बर्षिय प्रेमबहादुर छन्त्याल, ५० बर्षिय पहलमान छन्त्याल र २८ बर्षिय सुमन छन्त्याल छन् । उनीहरु आरक्षको हिरासतमा छन् ।
उनीहरुको साथबाट १ थान भरुवा बन्दुक, १ थान कार्तुस बन्दुक, खुकुरी, हसिया, छाला काढ्ने चक्कु, धार लगाउने रेती, १ थान बाइनाकुलर, पासो लगाउने डोरी १ सय ८१ थान, १ सय २ वटा पासो, ३ वटा झोला ३ सेट बन्दोबस्तीका सामान समेत सुरक्षाकर्मीले बरामद गरेको हो ।
गस्ती गएको टोलीले बार्से ब्लकमा मृत अवस्थामा १ वटा रेडपाण्डा, बार्सेकै थारखोलामा २४ इन्च लामो नाउरको सिंगसमेत भेटिएको थियो । बरामद भएका सामान र भेटिएका मृत जनाबर समेतले उनीहरुले नियमित सिकार गरिरहेको सुरक्षा टोलीले अनुमान गरेको छ ।
अबैध चोरी सिकार गरेकोले आरक्षले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारवाही शुरु गरेको हो । उनीहरुलाई हातहतियार तथा खरखजाना सम्बन्धी आरोप छ । आरक्षले अबैध चोरी सिकारमा जनही १ बर्ष कैद र ५० हजार जरिवाना गराउने छ । त्यसपछि जिल्ला प्रहरी कार्यालयले हात हतियार तथा खरखजना सम्बन्धी थप मुद्दा चलाउने छ । उक्त मुद्दा जिल्ला अदालत पठाइने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
ढोरपाटनका अधिकांस ब्लकमा कर्मचारी र सुरक्षाकर्मीको अभाव छ । त्यसैले निरन्तर चोरी सिकार भैरहेको भेटिएको छ । यसअघि गत असारमा पनि आरक्षले ८ अबैध हतियार बरामद गरेको थियो । त्यस बाहेक बेलाबेला चोरीसिकार भैरहेको अबस्थामा सामाग्रीहरु बरामद हुने गरेका छन् । अधिकांस सिकारी भने फरार हुने गरेका छन् ।