बागलुङ, ८ मंसिर– बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले कात्तिक महिनाभर कुल ४८ लाख ३१ हजारको कारोवार गरेको छ । समितिले उक्त रकमको आयव्याय समेतको हिसाब सार्वजनिक गरेको छ ।
चाडपर्व समेत भएकोले कात्तिकमा केही बढी भेटी संकलन हुने गर्छ । हरेक महिना सार्वजनिक गर्दै आएपनि कात्तिकको भेटीप्रति धेरैको चासो समेत हुने गर्छ ।
समितिले दिएको जानकारी अनुसार कात्तिकमा कुल २७ लाख ९० हजार ९ सय ९५ रुपैयाँ रकम आम्दानी गरेको देखिन्छ । जसमा चामल बिक्रीबाट १ लाख ७७ हजार ९ सय, बोकाबाट ३ लाख ९६ हजार ४ सय, कुखुराबाट ३० हजार २ सय, राँगाबाट १० हजार ८ सय, बिभिन्न व्यक्तिले दिएको आर्थिक सहयोग १ लाख ७९ हजार ८ सय आएको देखिएको हो ।
व्यय तर्फ कर्मचारी तलबमा ५ लाख ४० हजार, बिद्युतमा २४ हजार, टेलिफोनमा १५ हजार, अतिथि सत्कारमा १ लाख ६५ हजार, उपहारमा ६७ हजार, आर्थिक सहयोगमा १ लाख, पूर्वाधारतर्फ ७ लाख ३६ हजार र पूजा बिशेष दशै खर्च ४ लाख १६ हजार भएको प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिए ।
कालीका मन्दिरमा पछिल्ला बर्ष दैनिक आम्दानी सार्वजनिक गर्ने चलन बसेको छ । साथै भौतिक पूर्वाधारहरु निर्माण भएका छन् । पूजा तथा बली व्यवस्थापन भएको छ । जसका कारण भक्तजनको आगमन पनि बढीरहेको समितिका अध्यक्ष कुमार खड्काले बताए ।
भक्तजन हरुले सहज पूजा गर्ने अबसर जुटेको र त्यसबाट आफन्तलाई समेत जानकारी दिने गर्दा भक्तजन तथा आन्तरिक पर्यटकको रुपमा आउनेहरु बढेका हुन् । उनीहरुले चढाएको भेटी दान पेटिकामा राख्ने चलन छ ।