बागलुङ, ९ मंसिर– ‘एक जिल्ला एक बर्ष दुई हेलीप्याड’ भन्ने नाराका साथ नेपाली सेनाले वडा वडामा हेलीप्याड बनाउने योजना अघि सारेको छ । सेनाको पश्चिम पृतनापति उपरथि दिपककुमार बानियाँले उक्त अभियान अघि बढीसकेको बताए ।
शुक्रबार बागलुङ नगरपालिका वडा नं. ६ को पञ्चकोटमा सेनाले बनाएको हेलीप्याड उद्घाटनमा पुगेका बानियाँले उक्त जानकारी गराएका हुन् । प्रधानसेनापतिबाट दिएको निर्देशन अनुसार सेनाले स्थानीय तहको सहकार्यमा हरेक वडा तहसम्म हेलीप्याड बनाउने लक्ष बनाएको बताए ।
समय समयमा आउने बिपतबाट नागरिकलाई बचाउने तथा दैवि प्रकोपमा उद्दार गर्न सजिलो हुनेगरी हेलीप्याड बनाउने काम थालेको बानियाको भनाई छ । शुक्रबार उनले बागलुङ नगरपालिका–६ को पञ्चकोटमा बनाइएको हेलीप्याड उद्घाट गरेका थिए । उक्त अवसरमा उनले नागरिकसँग साझेदारी र साक्षात्कार हुने अवसर र सेवामा पनि लाग्ने गरी हेलीप्याडको अभियान अगाडि सारेको बताएका थिए ।
पञ्चकोटमा सेनाले बनाएको हेलीप्याड शुक्रबार बागलुङ नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । नगरप्रमुख बसन्तकुमार श्रेष्ठलाई उनले दैवि प्रकोप उद्दार तथा अन्य सेवाका लागि हेलीप्याडको अधिकतम उपयोग गर्न आग्रह गराएका थिए । सेनाको घोडाबाँधेस्थित श्रीमेहर गणका प्राविधिक र कामदार प्रयोग गरेर उक्त हेलीप्याड बनेको हो । ६ लाख लागतमा बनेको हेलीप्याडका लागि नगरपालिकाले ३ लाख बजेट दिएको थियो । बाँकी ३ लाख बराबरको काम सेनाले गरेको हो ।
यो हेलीप्याडमा सबैखाले हेलिकोप्टर बस्न सक्छन् । पञ्चकोटमा पछिल्लो समय सयौं पर्यटक पुग्ने गरेका छन् । पर्यटकले चाहेमा हेलीकोप्टर ल्याउन सक्ने र कुनै बिपत् आइहालेमा तत्काल उद्दार गर्न सकिने गरी हेलीप्याड बनेको हो ।
सेनाले बागलुङकै जैमिनीमा हेलीप्याड निर्माण शुरु गरेको बानियाँले जानकारी दिए । ‘हामीले एकबर्ष एक जिल्ला २ हेलीप्याडको दरले काम गरिरहेका छौं’ बानियाँले भने, ‘केही बर्षमै प्रदेशका सबै पालिका र सबै वडामा हेलीप्याड बनाइसक्छौं ।’ एक बर्ष एउटा जिल्लामा २ वटा हेलीप्याड बनाउँदा चालु बर्षभित्रै गण्डकीका १० जिल्लामा २० वटा हेलीप्याड बनाइने उनले जानकारी दिए ।
पञ्चकोटमा अझै केही हेलीप्याड बनाउने योजना बनाइएको छ । आगामी फाग्ुनमा ब्रम्हाण्डीय महायज्ञ गर्ने गरी तयारी भैरहेको छ । महायज्ञको आयोजनाका लागि धौलागिरिका सबै पालिकाका जनप्रतिनिधिको बैठक आयोजना गरिएको छ । उक्त महायज्ञ अहिलेसम्मकै सबैभन्दा ठूलो हुने बताइएको छ । त्यसका लागि देशका उच्च पदस्थलाई उतार्ने गरी हेलीप्याड बनाउन लागिएको हो । स्थानीय तह, महायज्ञ मुल आयोजक समितिले सेना र अन्य प्राविधिकको सहयोग लिइरहेका छन् ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पछिल्लो समय पञ्चकोटमा पर्यटकको आगमन समेत बढीरहेकाले हेलीप्याडले थप सहयोग पुग्ने बताए । हेलीकोप्टरबाट आउने पर्यटकले पनि यो हेलीप्याडबाट साथ पाउने उनको भनाइ छ ।