बागलुङ, १० मंसिर– नेपालको समृद्धिको क्षेत्र कृषि, घरेलु उद्यम र पर्यटन मात्रै भएको सरोकारवालाले बताएका छन् । राज्यले समृद्दिको नारा लगाएपनि कृषि र पर्यटन क्षेत्रमा लगानी कम भएको, ती क्षेत्रको बिकासमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवस्यक भएको बताए ।
बागलुङ नगरपालिकाले आयोजना गरेको तीन दिने पर्यटन पत्रकारिता तालिमको समापनको अबसरमा सरोकारवालाले प्राकृतिक क्षेत्रको प्रचार प्रवद्र्धन गरेर पैसा कमाउन सकेमा युवा बिदेश पलायन नहुने बताए ।
कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले अब हरेक नागरिकको हातमा पैसा आउने काम गर्नुपर्ने भन्दै त्यसका लागि पर्यटन बिकास नै भएको बताए । ‘हाम्रा सम्पदा र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरेर मात्र समृद्दि ल्याउन सकिनछ’ श्रेष्ठले भने,‘नागरिकको हातहातमा पैसा आउने काम पर्यटनबाट मात्रै संभव छ ।’
पर्यटन बोर्डका मिडिया कोअर्डिका टिपी भुषालले सानो देशमा १ सय २६ जाती र भाषा तथा हजारौं संस्कृति रहेको नेपालमा भौगोलिक रुपमापनि संसारभरको हावापानी पाइने कुरा नै प्रचार गरेर संसारका पर्यटक भित्राउन सकिने बताए । पर्यटन कार्यालय पोखराका बरिष्ठ अधिकृत कुन्दन मिश्रले पुरातात्किव बस्तुहरुको संरक्षण गरेर पर्यटक बढाउन सकिने बताए ।
समापन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले दैनिक १ सय जनाले राहदानी बनाएको देख्दा नराम्रो लागेको भन्दै अब युवा स्वरोजगारका लागि घरेलु उद्यममा लगानी चाहिएको बताए । उनले पर्यटन प्रवद्र्धनका लागि पनि घरेलु उद्योग, नेपाली मौलिक कलाको संरक्षण आवस्यक भएको बताए ।
नगर पर्यटन बिकास समितिका अध्यक्ष तथा नगर उपप्रमुख राजु खड्काको अध्यक्षता, प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, नेपाल पत्रकार महासंघका सचिव बिजय राना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।