बागलुङ, १० मंसिर– लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ । बागलुङमा बिभिन्न कार्यक्रम गरेर अभियानको थालनी भएको छ । शनिबार बागलुङका दर्जन बढी संस्थाले विभिन्न पालिकामा अभियान संचालन गरेका थिए ।
बागलुङ बजारमा भएको कार्यक्रममा प्रभातफेरी र प्रवचन कार्यक्रम सम्पन्न भयो । सामाजिक विकास कार्यालय बागलुङ, बागलुङ नगरपालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सामुदायिक प्रहरी सेवा, नेपाल मगर महिला उद्यमी समूह लगायतले अभियानको पहिलो दिन प्रभातफेरी आयोजना गरे ।
प्रवचन कार्यक्रममा महिला अधिकारकर्मीले लैगिक हिंसाबिरुद्ध सबैको समान चासो र चिन्तन हुनुपर्ने बताए । महिला र पुरुषको मात्र क्षमता विकास भएर पनि हिंसा नरोकिने भन्दै सहअस्तित्वका लागि समान रुपमा काम गर्नुपर्ने उनीहरुले बताए । समान कामको समान ज्यालादेखि सहअस्तित्वसहित सम्मानपूर्वक काम गर्ने वातावरण बन्दा हिंसा रोकिने बताए ।
सोह्र दिनसम्म विभिन्न कार्यक्रम गरेर अभियान संचालन हुनेछ । मानवअधिकार, महिला तथा बालबालिका माथी हुने बिभेद, अपांगता भएका नागरिकको शिक्षा, स्वास्थ्य र मौलिक हक प्रयोगको अवसरलाई राज्यका निकायले अवसरको रुपमा ल्याउनुपर्ने लगायतका बिषयमा सहभागिले जोड दिएका थिए ।
पूर्व सांसद तथा महिला अधिकारकर्मी मनकुमारी केसीले महिला हिंसा रोक्न पुरुषहरु पनि सचेत र सक्षम बन्नुपर्ने बताइन् । कतिपय बिषय कुनै जाती, लिंग बिशेषमा मात्र गरिएको लगानीले पनि हिंसा रोक्न नसक्ने भन्दै सबैको समान विकास आवस्यक पर्ने बताइन् ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, अन्तरपार्टी महिला संजालकी सचिव पिंगला जिसी, अपांग सरोकार संघकी अध्यक्ष चिजा थापाले बोलेका थिए । जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको संचालन र सामाजिक विकास कार्यालयकी प्रमुख गुमादेवी शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।