बागलुङ, १२ मंसिर– बागलुङ नगरपालिकाले मौषमी उत्पादनको रुपमा सुन्तला लगायतका फलफूललाई बजारमा दिउँसो पनि बिक्री गर्न दिने भएको छ । बजार व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो ।
समितिले मुख्य सडकमा पैदलयात्रीको आवागमनलाई असर पर्ने गरी भने बिक्री गर्न रोकेको छ । गत भदौ १ गतेदेखि सडक पेटीमा व्यापारिक सामान राख्न रोकेकोमा मौषमी फलफूल भित्री गल्लीको खाली स्थानमा बेच्न खुला गरिएको हो ।
बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेको संयोजकत्वमा बसेको बैठकले स्थानीय रुपमा फलेका सुन्तला लगायतका मौषमी फलफूल बेच्न समयसिमा खुला गरिएको हो । ठेला गाडीमा तराइ र बिदेशबाट आएका फलफूल तथा तरकारी बेच्दै दिनभर सडकमा डुल्ने काम भने नगरपालिकाले यसअघिनै बन्द गराएको थियो । ‘कतिपयले आफ्नै बारीको सुन्तला ल्याएका छन्, कतिले रोजीरोटीका लागि मौषमी फलफूल ल्याएकोले भित्री गल्लीका खाली स्थानमा बेच्न दिने निर्णय गरेका हौं’ घिमिरेले भने, ‘अन्य नियम भने यथाबत रहने छ ।’ नियम उल्लंघन भएमा नगर प्रहरीले ती सामान उठाइदिने उनले बताए ।
समितिले नगर प्रहरी परिचालनका लागि पनि व्यवस्था मिलाएको छ । नगर प्रहरीले बजारका मुख्य स्थानमा नियमित गस्ती गर्नेछन् । हालको संख्या कम भएकोले ६ जना नगर प्रहरी थप गर्ने योजना भैरहेको पनि उनले जानकारी गराए । नगर प्रहरीको हाजिरी र बिदा दिनुपरेमा प्रशासनबाट अनुमति लिनुपर्ने भएपनि बजारको काममा खटिंदा भने समितिको अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो ।
गत भदौदेखि नगरको निर्णयलाई पालना गरेकोमा नगरबासीलाई समितिले धन्यबाद दिएको छ । बजार क्षेत्रमा रहेका अव्यवस्थित पोल तत्काल उठाइ संकलन गरेर राख्ने निर्णय पनि समितिले गरेको छ । अनावस्यक पोल तथा तारहरु हटाएर नयाँ पोल गाड्ने र सोका लागि सम्बन्धीत सरोकारवाला निकायका जनशक्ती समेत परिचालन गर्ने र तत्कालका लागि ५० पोल थप गरेर बिद्युतीकरणलाई व्यवस्थित बनाउने निर्णय समेत समितिले गरेको हो ।
यो अभियानले बजारको सौन्दर्यमा थप टेवा पुग्ने नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘अब केही समयभित्रै कतैपनि पोल र तारको झुण्ड हुनेछैन’ श्रेष्ठले भने, ‘नगरलाई हेर्नलायक बनाउन सकियो भने पर्यटक पनि बढ्नेछन् ।’ नगर क्षेत्रका महत्वपूर्ण गन्तव्यमा पुगेका पर्यटक फर्केर बागलुङ बजारमै बसौं बसौं लाग्ने बनाउन नगरको सफाइ चाहिएको उनको भनाइ छ । दैनिक सरसफाइबाहेक भित्री गल्लीको सफाइ, अव्यवस्थित तारपोल व्यवस्थापन र सबै सडक स्तरीय बनाउने योजनामा नगरले काम गरिरहेको समेत उनले दाबी गरे ।