तस्बिर गुगलबाट
बागलुङ, १२ मंसिर– नेपाली संस्कारमा बाबुआमाको काजक्रिया छोराले गर्ने चलन छ । तर जैमिनीकी एक युवतीले आफ्नो बाबुको क्रिया बसेकी छिन् ।
जैमिनी नगरपालिका वडा नं. ९ पैयुँथन्थापकी २४ बर्षिय सिर्जना पौडेलले बाबु हरिप्रसाद पाध्याको काजक्रिया बसेकी हुन् । ७६ बर्षिय पाध्याको मंसिर ५ गते निधन भएको थियो । उनी ७ बर्षदेखि निमोनियाको रोगी थिए ।
८ बैनी मध्येकी सिर्जना कान्छी हुन् । ७ दिदीहरुको बिहे भैसकेको थियो । अविवाहित सिर्जनाले छोराले बस्ने जस्तै क्रिया बसेकी छिन् । दैनिक काम पनि उनैले गरेकी छिन् । ‘धेरैले छोरीले क्रिया बस्न हुँदैन पनि भने, कोही आएर हतोत्साही बनाउन पनि खोजे, तर मैले आँफैले आँट गरेकी हुँ’ उनले भनिन्, ‘छोरीले पनि क्रिया गर्न हुन्छ भन्ने कुरा स्थापित गर्न सकेका छौं ।’ शुरु दिनमा हुँदैन भन्नेहरुले पनि ठिकै भयो भन्न थालेको उनले बताइन् ।
छोरा नभएकोले बाबु हरिप्रसादले यसअघि पनि आँफू मरेपछि कान्छीले काजक्रिया गरिदिनु भनेको सिर्जनाले स्मरण गरिन् । उनले बुबाआमाको इच्छा भएकोले काजक्रिया गरेको बताइन् । बाबुको निधनमा विक्षिप्त भएकी आमालाई सम्झाउने र भेट्न आउने पाहुनालाई व्यवस्थापन गर्ने काम उनैले गरेकी छिन् । उनको साहस र तत्परता देखेर जैमिनी नगरपालिकाका उपप्रमुख घरमै पुगेर सान्त्वना समेत दिए ।
स्नातक उत्तिर्ण सिर्जना सामाजिक तथा लेखन क्षेत्रमा पनि रुची राख्छिन् । उनले सामाजिक रुपमा छोराछोरी समान भएकोले अन्यलाइ पनि सिकाइ हुने बताइन् । उनको साहसलाई सामाजिक अगुवाले राम्रो मानेका छन् । ‘छोरा नभए काजक्रिया नै हुँदेन भन्नेहरुका लागि यो महत्वपूर्ण अबसर बनेको छ’ शर्माले भने, ‘यो घटनाले सबैलाई सिकाइ समेत भयो ।’ सिर्जनालाई पोखराबाट आएका भिनाजु नवराज दाहालसहित अन्य दिदीहरुले पनि सहयोग गरेका छन् । ८ दिदीबैनीमा बिदेश भएका दुइ जनाबाहेक ६ जना जुटेका छन् ।