बागलुङ, १३ मंसिर– नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सहितको टोलीले थाल्ने संकल्प यात्रामा दुइ दिनसम्म बागलुङमा कार्यक्रम हुने भएका छन् ।
एमालेको केन्द्रीय कमिटिको छैठौं बैठकले बैतडीको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार मंसिरको २० र २१ गते ओली सहितका नेताहरु बागलुङमा आउनेछन् ।
रुकुम सिमानाको पातीहाल्नेमा २० गते बिहान साँढे ८ बजे प्रवेश गरेपछि २१ गते दिउसो १ बजेसम्म नेताहरुले बागलुङका ६ वटा स्थानीय तहमा विभिन्न कार्यक्रममा सहभागि हुने भएका हुन् । एमाले बागलुङले मंगलबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो ।
अध्यक्ष ओलीसहित केन्द्रीय नेता रहेको १ सय ५० जनाको टोलीले झण्डै २१ दिनको यात्रा गर्ने छ । यो यात्रामा मोटरसाइकल स्कटिङ, प्रेस चौतारीमार्फत मिडिया परिचालन र भेटघाट कार्यक्रमसमेत राखिएको छ । २० गते बिहान पातीहाल्नेमा केन्द्रीय सदस्य साबित्रा रानाको टोलीले स्वागत गरेपछि टोलीले निसीखोलाको झिंवाखोलामा जनभेटघाट गर्ने छ । बुर्तिवाङ बजारमा सोही दिन बिहान १० बजे केन्द्रीय सदस्य सूर्य पाठकले स्वागत गर्नेछन् । बुर्तिवाङमा खाना खाएर टोलीले ढोरापाटन र तमानखोलाका कार्यकर्तासँग भेटघाट गर्ने बताइएको छ ।
२० गतेनै बडिगाड गाउँपालिकाको दुइ स्थानमा भेटघाटपछि गुल्मीको वामीटक्सारमा आयोजना गरिएको आमसभामा ओलीले सम्बोधन गर्ने योजना छ । त्यसपछि नेताहरुको टोली पुन बागलुङको गलकोट आउने छ । गलकोटमा बेलुकीको बसाइ हुने भएकोले भेटघाट र अन्तरक्रिया कार्यक्रम गलकोटमा सम्पन्न हुनेछन् । गलकोटका लागि पोलिटव्युरो सदस्य मनकुमारी केसीले टोलीको स्वागत गर्नेछिन् ।
मंसिर २१ गते ओली सहितको संकल्प यात्रा बागलुङको घोडाबाँधेहुँदै बागलुङ आउने भएको छ । उक्त दिन बिहान १० बजे बागलुङ बजारमा केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले स्वागत गर्नेछन् । टोलीले कालिका मन्दिरको दर्शन र अबलोकन गर्नेछन् । खानापछि मालढुंगामा बिदाइ गरेपछि ओलीले फेरी पर्वतको कुश्मामा आयोजित कार्यक्रममा सम्बोधन गर्ने योजना छ ।
उक्त संकल्प यात्राको क्रममा बागलुङको समृद्धिका लागि केही एजेण्डाहरु पार्टी नेता तथा कार्यकर्ता र स्थानीय बासिन्दाको तर्फबाट पेश हुने बताइएको छ । बिशेषगरी बागलुङको समृद्धिको यात्रालाई प्रभाव पार्ने कालीगण्डकी करिडोर मध्यपहाडी लोकमार्ग, उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना र सालझण्डी ढोरपाटन सडकजस्ता बिषय एजेण्डाको रुपमा प्रस्तुतीकरण गरिने एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए ।
त्यसबाहेक काठेखोलाको अक्षेतेदेखि गलकोटसम्म लोकमार्गमा सुरुङ मार्ग बनाउने, बागलुङ बजारको विकासका लागि करिडोरलाई कालीका मन्दिर, शालिग्राम संग्राहलय र म्याग्दीको रत्नेचौरहुँदै लैजाने बिषयहरु समावेश हुनेछन् ।
अभियानलाई सफल बनाउन उद्योगी, व्वयसायी, पत्रकार, प्रशासन र सुरक्षा निकायमा छलफल गर्ने योजना एमालेको छ । यो अभियान सफल पार्न एमालेले मंसिर १२ गते गलकोट, १३ गते बुर्तिवाङ, १४ गते बागलुङ बजारमा सामुहिक भेला समेत राखेको छ । मध्यपहाडी लोकमार्गमार्फत नेपालको पहाडी क्षेत्रको विकास गर्ने लक्ष्यलाई प्रभावकारी बनाउन एमालेले यो अभियान जोडेको थियो ।
पत्रकार सम्मेलन एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता र प्रवत्ता गणेश पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमबारे कार्यालय सचिव अमरबहादुर थापाले प्रस्तुतीकरण गरेका थिए भने पत्रकारको जिज्ञाशामा केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले पनि जवाफ दिएका थिए ।