बागलुङ, १८ मंसिर– जिल्लाको बरेङ गाउँपालिकाका ५ वटै वडामा कार्यरत कर्मचारीहरुले सामुहिक कर्मचारी कल्याण कोष संचालनमा ल्याउने भएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाको संयोजकत्व र पालिकाका करिब ६० जना कर्मचारीको उपस्तिथीमा कोष संचालन सम्बन्धी छलफल गरी कर्मचारी सामुहिक कोष २०८० कार्यविधिसमेत पारित गरेको हो ।
भेलाले पाँच सदस्यीय कोष संरक्षक समिति, पाँच सदस्यीय संचालक समिति चयन गरेको पालिकाका सूचना अधिकारी केशबराज क्षेत्रीले जानकारी दिए । पालिकामा काम गर्ने कर्मचारीको कल्याणका लागि मासिक बचत गर्ने, ऋण लगानी गर्ने, वार्षिक साधारण सभा गर्ने, वाणिज्य बैंकमा रकम जम्मा गर्ने, लाभांश वितरण गर्ने कार्यविधिमा उल्लेख रहेको उनले बताए ।
आपत्कालीन अवस्थामा सापटी रकम चलाउन पाइने, विभिन्न राहतका कोष र विभिन्न नीति नियम तथा कानुनी कुरा कार्यविधिमा समावेश गरिएको छ ।