बागलुङ, २३ मंसिर– जिल्लाको जैमिनी नगरपालिकामा नौ जना बिरामीको जाँच गर्दा दुई जनामा हाईड्रोशिल र ४ जनामा हर्नियाको संक्रमण देखिएको छ ।
हात्तिपाईले रोगका लक्षणहर मिल्ने नौ जना बिरामीको परीक्षणमा दुई जनामा शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेको हाईड्रोशिलको समस्या देखापरेको हो । हाईड्रोशिललाई हात्तिपाईले रोगको लक्षणमको रुपमा समेत लिने गरीएको छ ।
चार जनामा हर्नियाको समस्या देखिएकाले धौलागिरी अस्पताल पुग्न सुझाव दिएमध्ये जाँचमा संलग्न चिकित्सक शंकरराज लामिछानेले जानकारी दिए । जाँच भएका नौ जनामध्ये दुई जनामा यसअघि हात्तिपाईले रोगको संक्रमण रहेको पुष्टि भएको थियो । औषधि उपचारपछि उनीहरुको अबस्था समान्य रहेको लामिछानेले बताए ।
जैमिनी नगरपालिकाले धौलागिरी अस्पताल र फेयरमेड फाउण्डेसनको प्राबिधिक सहयोगमा हात्तिपाईले रोगसँग लक्षण मिल्ने बिरामीहरुका लागि नमुना परीक्षण शिविर सञ्चालन गरेर उनीहरुको पहिचान गरेको हो । ‘तत्कालका लागि समस्या देखापरिसकेको होईन तर सचेत रहन आवश्यक छ’ लामिछानेले भने ।
शिविरको अवसर पारेर ग्रामीण स्वास्थ्य सुधार परियोजना संचालन गरेको फेयरमेड फाउण्डेसन र बिवाईसी बागलुङले प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा स्वास्थ्य सामाग्री र उपकरण सहयोग गरेको छ । नगर अस्पतालको रुपमा बिकास भैरहेको स्वास्थ्य केन्द्रको लागि एनेलाईजर मेसिन हस्तान्तरण गरिएको हो ।
सोडिएम र पोटासियम जाँच गर्ने एनलाईजर मेसिन हस्तान्त्रण पछि सामान्य जाँचका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको कुश्मीशेराका वडाअध्यक्ष बिष्णु आचार्यले बताए । दुई लाख ३७ हजार मुल्य पर्ने मेसिन फेरमेड फाउण्डेसनका परियोजना अधिकृत गणेश बरुवालले नगर उपप्रमुख हरिहर शर्मालाई हस्तान्तरण गरेका थिए ।