बागलुङ, २५ मंसिर– बागलुङ नगरपालिकाले संचालन गरेको छैठौ राष्ट्रपति कप खेलकुँद प्रतियोगिताको उपाधि अमर आदर्श माबिले जितेको छ । अमर आदर्शले १४ स्वर्ण, ९ रजत र ४ कास्य गरी २७ पदकका साथ प्रथम स्थान हासिल गरेको हो । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले अमर आदर्शलाई राष्ट्रपति रनिङशिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे ।
कबड्डी, , मार्सल आर्ट र एथलेटिक्सका खेलहरुमा अमरआदर्शले उत्कृष्ठ प्रर्दशन गरेको थियो । जित पछि उक्त बिद्यालयको शिक्षक तथा बिद्यार्थीले खुसीयाली मनाएका थिए । प्रतियोगितामा ९ स्वर्ण पदक, ७ रजत र १ कास्य पदक सहित १७ पदक जितेर गणेश माबि द्वितिय भयो । गणेश माबिका अधिकांस बिद्यार्थीले दौड प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । चिल्ड्रेन लाइफ माबिले ८ स्वर्ण, ११ रजत र १६ कास्य पदक गरी ३५पदक प्राप्त गरेको थियो । गतबर्षको शिल्ड जितेको सनराइजले ८ स्वर्ण पदक जित्यो । सिगाना माबि तित्याङले ७ स्वर्ण पदक जित्न सफल भएको छ ।
प्रतियोगितामा सबैभन्दा बढी आर्कषक मानिएको भलिबल खेल धवलागिरि बिरेन्द्र माबिले जितेको छ । धविमाबिले महाबिद्याजन माबि रायडाँडालाई २५–१७ र २५–२१ ले पराजितग गरेको खेल व्यवस्थापनका सदस्य किसोर छन्त्यालले बताए । फाइनल यात्राकालागि धविमाबिले अमर आदर्श माबिलाई २५–२१ र २५–२० को अंकले जित हात पारेको थियो । महाविद्याजनले बिद्यामन्दिरलाई पराजित गरेको थियो ।
त्यस्तै भलिबलको छात्रा तर्फ बिद्यामन्दिर माबिले जित हात पारेको छ । बिद्यामन्दिरले धवलागिरि बिरेन्द्र माबिलाई २५–१६ र २५–१८ को स्कोरमा जित हात पारेको हो । फाइनल पुग्नकालागि बिद्यामन्दिरले धवलागिरि बहिरा माबिलाई २५–२० र २५–१३ को अंकमा पराजित गरेको थियो । धबि माबिले होली चाइल्डलाई २५–१६ र २५–१२ को स्कोरमा जित हात पारेको थियो ।
कबड्डीतर्फ छात्रको खेलमा युएस एकेडेमीले स्वर्ण पदक जितेको छ । बिद्यामन्दिर माबिले रजत र न्यू ओएसिस माबिले कास्य पदक जिते । त्यस्तै छात्रा तर्फको कबड्डीमा अमर आदर्शले स्वर्ण, चिल्ड्रेन लाइफले रजत र युएस एकेडेमीले कास्य पदक जितेको छ ।
मार्सल आर्टतर्फ सनराइज माबिले करातेमा सबैभन्दा धेरै ८ वटा स्वर्ण पदक जितेको छ । अमर आदर्शले २ स्वर्ण जित्न सफल भयो । कराँतेका अधिकांस पदक सनराइज, अमर आदर्श र कालीगण्डकी माबिले हात पारेका छन् ।
आइतवार भएको ३ हजार मीटर दौडमा छात्र तर्फ सिगाना माबि तित्याङका रबि बिकले जितेर स्वर्णपदक हात पारे । उनले निर्धारित दुरी ११ मीनेट १३ सेकेण्डमा पार गरेका थिए । बिद्यामन्दिरका पूर्णबहादुर थापाले रजत र चिल्डे«न लाइफका गणेश केसीले कास्य पदक जिते । छात्रा तर्फ मुलपानी माबिकी मनिषा दर्जीले १४ मीनेट १७ सेकेण्डमा दुरी पार गरेर स्वर्ण पदक जितिन् । चिल्ड्रेन लाइफकी रोशनी जिसीले रजत र सिगाना माबिकी सिता किसानले कास्य पदक जितेको नगर शिक्षा अधिकृत गौरब रानाले बताए । पुरस्कृत सबै बिद्यार्थीलाइ नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल र नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल लगायतले मेडल र प्रमाणपत्र बितरण गरेका थिए । यो खेल पछि अब जिल्ला स्तरीय राष्ट्रपति खेलकालागि खेलाडीहरु तयार भएका छन् ।