बागलुङ, २७ मंसिर– नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बागलुङ जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष सौरभ श्रेष्ठले उमेदवारी दिएका छन् । बागलुङ जेसीजको मातृशाखा बुटवल जेसीजको आतिथ्यतामा मंसिर २९ गतेदेखि पुस २ गतेसम्म बुटवलमा हुने ५० औँ राष्ट्रिय सम्मेलनमा श्रेष्ठले उमेदवारी दिएका हुन् ।
बागलुङ जेसीजले उमेदवार दिएको बिषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उमेदवार श्रेष्ठले बागलुङलाई चिनाउन र बागलुङ जेसीजका गरिमालाई उचो राख्नका लागि आफुले उमेदवारी दिएको बताए ।
१२ जना आवश्यक पर्ने राष्ट्रिय उपाध्यक्षमा २२ जनाको उमेदवारी परेको छ । २०१५ मा बागलुङ जेसीजको सदस्य बनेका श्रेष्ठ, कोषाध्यक्ष, महासचिव, कार्यकारिणी उपाध्यक्ष, तालिम निर्देशकहुँदै २०२३ मा शाखा अध्यक्ष बनेका जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारीले जानकारी दिए ।
देशभर रहेका १ सय ७८ शाखाबाट राष्ट्रिय सम्मेलनमा करिब १ हजार ५ सयले मतदान गर्न पाउने पूर्व अध्यक्ष राजभण्डारीले बताए । यसअघि बागलुङ जेसीजले ५ बर्ष पहिले राष्ट्रिय अध्यक्षमा उमेदवारी प्रस्तुत गरेको थियो ।
जेसीजको राष्ट्रिय अध्यक्षका लागि ५ जना र कार्यकारिणी उपाध्यक्षका लागि १३ जनाको उमेदवारी परेको जनाइएको छ ।