बागलुङ, २९ मंसिर– जिल्लामा १४ बर्षपछि हात्तिपाइले संक्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ । २०६६ सालमा ‘बेसलाईन सर्वे’ हुँदा १३ प्रतिशतमा संक्रमण देखिएको बागलुङमा १४ औं पटक आम औषधि सेवनपछि गरिएको ‘समुदायमा हात्तिपाईलेको परजिवी सरेको नसरेको सर्वेक्षण’ टास–१ मा जिल्ला उत्तिर्ण भएको हो ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालय बागलुङले जिल्लाका ७६ वटा विद्यालयका कक्षा १ र २ का ६ बर्षदेखि ८ बर्षका १ हजार ६४२ बालबालिकाहरुमा हात्तीपाइले रोगका परजिवी भए नभएको परिक्षण गरेको थियो । तीमध्ये ढोरपाटन नगरपालिका वडा नं. ६ का एक जना बालकमा मात्रै संक्रमण रहेको पाईएको थियो । उनको उपचार सुरु गरिएको स्वास्थ्य कार्यालय बागलुङकी बताईन् ।
यसअघि सन् २०१४ मा ३ प्रतिशत, २०१६ मा २.३ प्रतिशत, २०१८ मा ४.६७ प्रतिशत र २०२१ मा गरिएको प्रारम्भिक परीक्षणमा २.६४ प्रतिशतमा हात्तिपाईले रोगका जीवाणुहरुको संक्रमण देखिएको थियो । ‘१३ औं पटक आम औषधि सेवन पछि प्रिटास गरेका थियौं, प्रि टास पास भएकाले १४ औं पटक आम औषधि सेवन गरेर औषधि सेवनको कार्यक्रम रोकिएको छ’ स्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भनिन्, ‘यो पटक टास १ पास भएका छौं, अब दुई बर्षपछि टास–२ र त्यसको दुई बर्षपछि टास ३ हुन्छ ।’
टास–३ पास भएपछि मात्रै जिल्लाले हात्तिपाईले रोग जनस्वास्थ्य समस्याको रुपमा नरहेको प्रमाणपत्र पाउने छ । सामान्यतयाः ६ वर्ष आम औषधि सेवनपछि हात्तिपाइले निवारण हुनुपर्ने हो, जिल्लामा १४ बर्षको प्रयास सफल हुने चरणमा पुगेको हो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले १४ जना दक्ष स्वास्थ्यकर्मी परिचालन गरेर सर्वेक्षण गरेको थियो ।