बागलुङ, १ पौष– गाउँमै प्राविधिक शिक्षाको कक्षा संचालनगर्न यहाँको पाण्डवखानी माबिमा ८ करोडको अक्षयकोष स्थापना गर्न लागिएको छ ।
बिद्यालयले थालेको अभियानकालागि गलकोट नगरपालिका–१० को पाण्डवखानी बासी र पूर्व बिद्याथईले ३ करोड १८ रुपैयाँ संकलन गरिसकेका छन् । बिद्यालयले पूर्व बिद्यार्थी डा. शेरबहादुर पुनको नेतृत्वमा आर्थिक संकलन अभियान थालेको छ । यो अभियानमा एकबर्ष भित्रै ८ करोड रुपैयाँ संकलन गर्ने लक्ष बनाएको प्रधानाध्यापक नरबहादुर सुनार नबिनले बताए ।
बिद्यालयले कृषि, भेटेनरी, डकर्मी र सिकर्मी जस्ता प्राविधिक उत्पादन गर्न लागेको सुनारले जानकारी दिए । ‘हामीले डाक्टर र नर्स बनाउने प्राविधिक हैन, गाउ“मै अडिएर पनि रोजगारी पाउने प्राविधिक खोजेका हौं’ सुनारले भने, ‘यो अभियानलाई धेरै अभिभावक र पूर्व बिद्यार्थीले सहयोगको आश्वासन दिइसकेका छन् ।’ उक्त अभियानका लागि बिद्यालयको भौतिक पूर्वाधार समेत बनाउनुपर्ने भएपछि अभिभावकहरुले लाखौं लगानी गरेर कक्षा कोठा बनाइदिएका छन् ।
स्थानीय मानसिंह छन्त्यालले बिद्यालयको २ कोठे भवन बनाइदिएका छन् । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीका अनुसार यहाँका दर्जनबढी कोठाका लागि अभिभावक नै दाता आइसकेको बताए । हाल कक्षा १२ सम्म पढाइ भैरहेको यो बिद्यालयमा प्राविधिक धारको कक्षा संचालन गर्न सकेमा बसाइ सराइ रोक्ने र आत्मनिर्भर वडा बन्ने घर्तीले बताए ।
बिद्यालयले संकलन गर्ने ८ करोड भने खर्च नगर्ने योजना बनाएको छ । अक्षयकोषमार्फत आउने व्याजबाट मात्र प्राविधिक शिक्षाको कक्षा संचालन, शिक्षक तथा कर्मचारी दरबन्दीको काम पुरा गर्ने उनले बताए । यो बिद्यालय सदरमुकाम बागलुङदेखि ७० किमीपश्चिममा पर्छ ।
नगरपालिकाको केन्द्र रहेको गलकोट पुग्न मात्रै यहाँबाट ३ घण्टा लाग्छ । ‘पालिका मुकाम पुगेर पढ्न समेत नसकेका बिद्यार्थीले गाउँघरमा पढ्न पाउने र प्राविधिक बिषय पढेर गाउँघरमै रोजगारी पाउन समेत सक्छन्’ घर्तीले भने, ‘यो अभियानले दुर्गम गाउँलाई नमूना बनाउने हाम्रो लक्ष हो ’ बिद्यालयले ६२ औं वार्षिकोत्सवको अबसर पारेर साता व्यापी हिरक महोत्सव समेत संचालन गरिरहेको छ ।