बागलुङ, १९ पुस– युवाहरुको नेतृत्व र क्षमता विकासमा अग्रणी भूमिका खेल्दै आएको बागलुङ जेसीजको ४६ औं पदस्थापन, पुरस्कार बितरण तथा बधाइ र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ जेसीजको ४६ औं अधिवेसनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापना तथा बर्ष २०२३ मा विभिन्न बिधाबाट उत्कृष्ठ जेसीज सदस्यलाई अवार्ड वितरण तथा पुरस्कार बितरण समेत गरिएको हो ।
उक्त अबसरमा बागलुङ जेसीज बर्ष २०२३ का अध्यक्ष सौरव श्रेष्ठले बर्ष २०२४ का शाखा अध्यक्ष गणेश महतोलाई पदस्थापना गराए । कार्यक्रममा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठलाई बधाइसहित सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय अध्यक्ष रबिन पोखरेलले युवाहरुलाई नेपालमै राख्ने अभियानमा जेसीजले भूमिका खेल्नुपर्ने बताए । उनले देश बनाउने जिम्मा समेत सबै युवाको भएको भन्दै राज्यका निकायमा पनि सहकार्य गरेर जानुपर्ने धारणा राखे ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख तथा बागलुङ जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठले जेसीजबाट राज्य, राजनीतिक दल र सबै संस्थाका अगुवाले सिक्ने धेरै कुरा भएको बताए । ‘एक बर्ष एक व्यक्ति एक पद’ भन्ने मान्यताले जेसीजमा एकै बर्षमा केही गरेर देखाउने भावना पलाउने बताए ।
कार्यक्रममा नेपाल जेसीज क्षेत्र ‘ख’ निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार, बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, बागलुङका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष अमर घिमिरे, बुटवल जेसीजका अध्यक्ष हरि बिक्रम कुँवर, पर्वत जेसीजका अध्यक्ष मिलन पौडेल, बागलुङ जेसीजका लिडर्स अध्यक्ष दिवाकर शाक्य र प्रगती स्मृति कोषका संस्थापक संरक्षक कृष्णबहादुर श्रेष्ठले मन्तव्य राखेका थिए ।
कार्यक्रम बागलुङ जेसीज बर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठ र बर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, कानूनी सल्लाहकार आनन्दप्रसाद रेग्मीको स्वागत र बर्ष २०२३ की महासचिव अञ्जिला श्रेष्ठ र बर्ष २०२४ का महासचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।