बागलुङ, २४ पुस– लायन्स क्लब अफ बागलुङ सिटीले उपल्लाचौर आधारभूत बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामाग्री तथा न्यानो कपडा बितरण गरेको छ ।
क्लबकी अध्यक्ष धना सुनार तथा सदस्य रिता खड्काको जन्मदिनको अबसर पारेर क्लबका सबै सदस्यले रकम संकलन गरी बालबालिकालाई सहयोग गरेका हुन् ।
सोमबार आयोजित एक कार्यक्रममा लायन्स क्लब डिस्ट्रीक ३२५ के का जीएमए चिफ एड्भाइजर दुर्गा कुँवरले बिपन्न नागरिकको सेवामा खटेर लायन्सले विश्वमा नाम कमाएको बताए । उनले उपल्लाचौर आधारभूत बिद्यालय बजारकै छेवैमा भएर पनि ओझेल परेकोले क्लबले उचित स्थान छनौट गरेकोमा धन्यवाद पनि दिए ।
बिद्यालयकी प्रअ शान्ति सापकोटाका अनुसार विद्यालयमा ९० जना बालबालिका अध्ययन गर्छन् । मुस्लिम समुदाय, बिपन्न, मजदुर लगायतका बालबालिका मात्रै अध्ययन गर्ने भएकोले यहाँका बालबालिकाले न्यानो कपडा लगाउन समेत नपाएको शिक्षकहरुले बताए । कतिपय बालबालिका भोकै आउने गरेकोले बिद्यालयमा खाजा खुवाउने व्यवस्थापन समेत गर्दै आइएको छ ।
क्लबले भने बालबालिकालाई कापीकलम तथा न्यानो कपडाको रुपमा स्विटर बितरण गरिएको हो । क्लबकी अध्यक्ष धना सुनारको अध्यक्षता, सचिव दुर्गा श्रीषको संचालन तथा उपाध्यक्ष शकुन्तला थापाको स्वागतमा सम्पन्न कार्यक्रममा लायन्स डिपार्टमेन्ट चिफ अनुप रिजाल, लायन्स तालबहादुर कुँवरले शुभकामना मन्तव्य राखेका थिए ।