बागलुङ, २४ पुस– बजारमा १ सय ३५ रुपैयाँ सम्ममा चिनी बिक्री भैरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल राखिंदिंदा सर्वसाधारणले राहत पाएका छन् । बागलुङ महोत्सवमा स्टलकै रुपमा राखेर साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकेजी १ सय रुपैयाँ र नून २० रुपैयाँमा बेचेको हो ।
महोत्सवको स्टलमा छिरेर स्थानीयले चिनी किनेका थिए । उक्त स्टलमा १६ सय ४ केजी चिनी बिक्रीबाट १ लाख ६६ हजार ४ सय रुपैयाँ, ५ सय ५० केजी नुन बिक्रीबाट १० हजार ९ सय ८० र गेडागुडी तथा तेल बिक्रीबाट १ लाख ८८ हजार रुपैयाँको कारोवार भएको थियो ।
‘यो कति धेरै चिनी बेच्नेभन्दा पनि सन्देश दिने स्टल थियो’ कर्पोरेसनको बागलुङ कार्यालयका प्रमुख मनोज श्रेष्ठले भने, ‘जनताले अब अन्यत्र महंगो भएपनि किन भन्ने प्रश्न गर्न सक्ने भए ।’ बजारमा अहिले चिनी सस्तो भैसकेको छ । तर अझैपनि कतैकतै महंगोमा विक्री भैरहेको छ । दुइ साता अघिसम्म त व्यापारीले मनोमानी नै गरेका थिए । हाल केही कम भएको छ ।
कर्पोरेसनले सस्तोमा चिनी ल्याइदिने भन्दा पनि व्यापारीका होलसेल पसलले महंगोमा ल्याएको भन्दै खुद्रा मूल्य समेत महंगो परेको थियो । महोत्सवको कारोवारपछि भने बजारमा पनि चिनीको मूल्यमा राहत भएको उपभोक्ताले बताए ।
कर्पोरेसनले आयोडिनयुक्त नुन खान पनि नागरिकलाई सचेतना दिएको थियो । आयोजित नुनबाट हुने फाइदा तथा नुन खाँदा आयोडिनको सुरक्षा गर्ने तरिका पनि सिकाइएको थियो । महोत्सवमा ताराखोलाको अल्लो, किसानका कृषि उपज तथा घरेलु प्रविधिबाट बनेका कतिपय सामाग्री पनि बेचिएका थिए ।