बागलुङ, २४ पुस– प्रहरीले प्रतिवन्धित लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । गलकोट नगरपालिका वडा नं. ५ घर भइ बागलुङ नगरपालिका वडा नं. २ को टेलिकम चोकमा डेरा गरी बस्ने २२ बर्षको गौतम बस्नेत पक्राउ परेका हुन् ।
सुराकीको आधारमा प्रहरीले उनको डेरामा छापा मार्दा डाईजेपाम इन्जेक्सन १८ एम्पुल, ब्रुफेनोपाइन १८ एम्पुल, प्रोमेथलाईन हाइड्रोक्लोरिड १८ एम्पुल गरी ५४ थान बरामत गरेको जिल्ला प्रहरीका डिएसपी मदन केसीले जानकारी दिए ।
यस्तै, जिल्लाको बडिगाड खोलामा एक महिलाको शव फेला परेको छ । ढोरपाटन नगरपालिका वडा नं. २ को खोल्टुबोट नजिकै खोलामा ती महिलाको अर्धनग्न शव फेला परेको प्रहरीले जानकारी दिएको हो ।
प्रहरीका अनुसार मृतक महिला अन्जादी ४० बर्षकी छिन् । मंगलबार बिहान ८ बजे स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङमा खबर गरेका थिए । कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिक नेतृत्वमा गएको टोलीले शव निकालेर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पु¥याएको छ । ती महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।