९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पत्रकार कुटिएको घटनाको छानविन गर्न ५ सदस्य समिति गठन


जनमञ्च संवाददाता
  • २५ पौस २०८० , बुधबार

  • पत्रकार कुटिएको घटनाको छानविन गर्न ५ सदस्य समिति गठन

    बागलुङ, २५ पुस– तीन दिनअघि पत्रकार बिजय रानामाथी भएको कुटपिटको घटनाको सत्यतथ्य पत्ता लगाएर कानूनी कारवाही गर्न ५ सदस्य रहेको छानविन समिति गठन भएको छ ।
    मंगलबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, बागलुङ उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ बीचको त्रिपक्षीय बैठकले उक्त समिति गठन गरेको हो । नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय रानामाथी गत शनिबार राती प्रहरीले निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट पत्रकार राना घाइते भएका थिए ।
    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा अनुसन्धान अधिकृत, नेपाल प्रहरीको निरीक्षक, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल र नेपाल पत्रकार महासंघ बागलुङकी सहसचिव सिर्जना पन्त रहेको समिति गठन भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
    कुटाइबाट पत्रकार राना घाइते रानाको धौलागिरि अस्पतालमा उपचार भएको थियो । बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको सातौं बागलुङ महोत्सवको ११ औं दिन काम सकेर फर्कने क्रममा धौलागिरि बहुमुखी क्याम्पसको पश्चिम गेटमा रानामाथी कुटपिट भएको थियो । अन्य व्यक्तिलाई कुटेको देखेपछि तस्बिर खिच्दा पत्रकार रानाको मोबाइल समेत खोसिएको थियो । प्रहरीले भने हुलहुज्जत गर्नेलाई लाठीचार्ज गर्दा पत्रकार राना पनि कुटिएको दाबी गरेको छ ।
    २० जनाभन्दा बढी प्रहरीले दुई जना नागरिक कुटिरहेको देखेपछि फोटो खिच्दा कुटिनु परेको रानाले बताए । ‘कुनैपनि नागरिक कुटिनु हुँदैन, अवान्छित क्रियाकलाप गरेको भए पक्राउ गरेर कानूनी कठघरामा लैजानुपर्छ’ रानाले भने, ‘नागरिक कुटिएको देखेपछि फोटो खिच्ने पत्रकारको दायित्व हो ।’ रानाले आँफू पत्रकार भएको जानकारी दिंदै परिचय पत्र देखाउँदा पनि कुटपिट गरेर प्रहरीले मोबाइल खोसेको बताए । उक्त मोवाइल एकदिनपछि फिर्ता दिइएको थियो । रानालाई टाउकोमा प्रहार गरिएको लाठी छेक्दा देब्रे हात र दुवै खुट्टामा चोट लागेको हो ।
    महासंघको नेतृत्वमा पत्रकारले निरन्तर दबाव दिएपछि मंगलबार दिउँसो मात्र प्रजिअ रिजालले छानविन समिति गठन गरेका हुन् । समितिलाई ५ दिनभित्रै सत्यतथ्य ल्याउन भनिएको छ । उक्त समितिको प्रतिवेदनको आधारमा दोषीलाई बिभागीय कारवाहीको लागि सिफारिस गर्ने उनले बताए । नेपाल पत्रकार महासंघ, बागलुङ, गण्डकी प्रदेश र केन्द्रीय समिति तथा पत्रकारका पेशागत संस्थाले बिज्ञप्ती प्रकाशित गरेर घटनाको बिरोध गरेका छन् । समाचार संकलनको क्रममा पत्रकारले परिचय दिंदा पनि कुटपिट हुनु प्रेस स्वतन्त्रता बिरोधी घटना भएको बिज्ञप्तीमा उल्लेख छ ।
    पत्रकार रानाले घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी गरेका छन् । आयोगले समेत उक्त घटनामा दुःख व्यक्त गरेर जिल्ला प्रहरीलाई घटनाको बिवरण माग गरेको छ । रानाले आफूले न्याय नपाएमा अदालत जाने बताए ।
    बैठकमा प्रजिअ रिजाल सहित प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का, प्रहरी नायव उपरिक्षक मदन केसी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल, राष्ट्रिय अनुसन्धान, सेना र सशष्त्र प्रहरीबलका प्रमुख तथा प्रतिनिधि समेत सहभागि थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend