बागलुङ, १२ माघ– इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष पक्राउ परेकी छिन् । गत जेठ पहिलो सातादेखि फरार भएकी कोषाध्यक्ष २७ बर्षिय लक्ष्मी सेन सुनार ललितपुरबाट पक्राउ परेकी हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले निसीखोला गाउँपालिका ३ घर भएकी सुनारलाई ललितपुरको धोबीघाटबाट बिहिवार बेलुकी पक्राउ गरेको हो । बचतकर्ताको डेढ अर्बभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेपछि सहकारीका संस्थापक तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहितका संचालक फरार थिए । नेपालीसँगै उनी समेत फरार थिइन् ।
पक्राउ परेकी सुनारलाई सिआइवीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाउने छ । डिएसपी मदन केसीले जिल्ला प्रहरीमा नआउन्जेल केही बताउन नसकेको जानकारी दिए । यद्यपी उनी पक्राउ परेको भने जानकारी भएको केसीको भनाइ छ ।

यसैबीच सहकारी ठगी गरेर भागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र उनकी श्रीमती छेला नेपालीलाइ इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ ।
तीन महिना अघिनै जिल्ला प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो मार्फत इन्टरपोललाई रेडकर्नर नोटिस जारी गरिदिन आग्रह गरेको थियो । उक्त आग्रह बमोजिम रेडकर्नर जारी भएपछि नेपालीलाई अब संसार भरका १ सय ९६ देशका प्रहरीले खोजी गर्न सक्ने व्यवस्था छ । इन्टरपोलले २४ जनवरीको मितिमा यो नोटिस जारी गरेको हो । नेपाली मिति अनुसार माघ १० गते सूचना जारी भएको हो । इन्टरपोलको केन्द्रीय कार्यालय फ्रान्समा छ ।
अब नेपाली कुन देशमा छन् भन्ने जानकारी हुनासाथ सोही देशको प्रहरीले खोजी गरेर पक्राउ गर्न सक्ने प्रहरी नायव उपरिक्षक मदन केसीले बताए । ‘रेडकर्नर जारी गर्ने प्रकृया र अधिकार केन्द्रीय कार्यालयमै छ तर हामीलाईपनि यो जानकारी आएको हो’ केसीले भने, ‘अब संसारभरको प्रहरीले नेपालीको खोजी गर्न सक्छ ।’