बागलुङ, १७ माघ– गलकोट बहुमुखी क्याम्पसको व्यवस्थापन र स्तरोन्नतीका लागि श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । आगामि फागुन ६ देखि १३ गतेसम्म बृहत धनधान्याञ्चल शैक्षिक ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
२०६१ सालमा महायज्ञ सञ्चालन गरेर जुटाएको पैसाले क्याम्पस सञ्चालनमा आएको थियो । क्याम्पसको स्तारोन्नती र व्यवस्थापनका लागि स्रोत जुटाउन कठिन भएपछि झण्डै २० बर्षपछि दोस्रो पटक महायज्ञ सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख मुकुन्दसेन भण्डारीले बताए ।
मंगलबार महायज्ञ मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै आफ्ना कार्यक्रम सार्वजनिक गरेको छ । महायज्ञ सञ्चालनका लागि बिभिन्न उपसमिति गठन लगायतका काम सुरु भएको भण्डारीले जानकारी दिए ।
महायज्ञमा भागवत भाष्कर पण्डित कमल नयन गौतमले प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महायज्ञबाट बीस करोड रुपैयाँ संकलन गर्ने आयोजकको लक्ष छ ।