बागलुङ, २५ माघ– गलकोट नगरपालिका–९ बडागाउँका २४ वर्षीय नविन जैसीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले गुल्मीको मुसीकोट नगरपालिका–१ घर भई गलकोट–९ गल्याङमा रहेको रेष्टुरेण्टमा काम गर्ने २५ वर्षिय राजु भन्ने तेजेन्द्र महतलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङ बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बुधबार बिहान मृत्त फेला परेका नविनको हत्या आरोपमा महतलाई बिहिबार पक्राउ गरिएको जानकारी दिए । केसीले मंगलबार राती मादक पदार्थ सेवन पश्चात झगडा हुँदा नविनलाई भिरबाट धकेलेर तेजेन्द्रले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको बताए ।
तेजेन्द्रलाई प्रहरीले बडागाउँस्थित मध्यपहाडी लोकमार्गबाट पक्राउ गरेको थियो । पक्राउ परेका महतलाई बिहिबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको केसीले जानकारी दिए ।
मंगलबार घरबाट निस्किएका नविन बुधबार बिहान गलकोट–९ को लोकमार्ग सडक छेउको नालीमा मृत्त फेला परेका थिए । स्थानीयहरुले शब फेला परेको जानकारी दिएपछि प्रहरीले घटनास्थल पुगेर बुधबारदेखि नै अनुसन्धान सुरु गरेको थियो ।