बागलुङ, २७ माघ– रगतमा अर्बुद रोग (ब्लड क्यान्सर) पीडित तारा थापालाई चिल्ड्रेन लाइफ इंङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले उपचार खर्च सहयोग गरेका छन् । विद्यालयमा गठित जुनियर रेड्क्रस सर्कलले बागलुङ नगरपालिका–१ रामरेखाका ब्लड क्यान्सर पीडित तारा थापाको उपचारको लागि एक लाख सोह्र हजार आठ सय पैसठ्ठी नगद सहयोग शुक्रबार हस्तान्तरण गरेको हो ।
स्कुलको कक्षा ८ मा अध्यननरत संगीता थापा तथा कक्षा ५ मा अध्यननरत सचिन थापाकी आमा तारा थापा ब्लड क्यान्सरबाट पीडित भएकोले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीबाट सहयोग संकलन गरिएको थियो । संकलित रकम विद्यालयको तर्फबाट प्रधानध्यापक नवराज श्रेष्ठ, लेखापाल शिवलाल शर्मा, शिक्षिका आरती थापा, चिल्ड्रेन लाइफ युवा रेड्क्रस सर्कलका शिक्षक नायक तार्जन कायत मगर र अध्यक्ष मन्जिला बिकको उपस्तिथिमा पीडितका छिमेकी तथा समाजसेवी नरबहादुर थापा र तुलबिर श्रीसलाई नगद सहयोग रकम हस्तान्तरण गरिएको हो ।
ब्लड क्यान्सरबाट पीडित तारा थापाको हाल छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार भैरहेको छ । विद्यालयको जुरेस चिल्ड्रेन लाइफले विगतमा पनि विभिन्न प्रकारका सहयोग प्रदान गर्दै आइरहेको छ ।