बागलुङ, ६ फागुन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नै माटोको माया गर्ने जनशक्ती बनाउने शिक्षा आजको आवस्यकता भएको बताएका छन् । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक विकास र संकाय थप गर्ने लक्षले आइतबारदेखि श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको शभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले भने, ‘अबका शैक्षिक संस्था र शिक्षकले आफ्नै माटोको माया गर्ने जनशक्ती उत्पादन गर्नुपर्छ ।’
पाण्डेले भौतिक पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले साथ दिने भन्दै नैतिक शिक्षा र राष्ट्रभक्ती सिकाउने काम समाजको भएको बताए । ‘विकास निर्माणमा त सरकारले साथ दिन्छ, तर युवा पलायन रोक्ने काम समाजको हो’ पाण्डेले भने, ‘उत्पादन, बजार र रोजगारीमा युवा जोडिनुपर्छ ।’
गलकोट बहुमुखी क्याम्पसले क्युएएको बाटोमा गएर आवस्यक संकाय थप गर्ने लक्षले महायज्ञ गरेको हो । पाण्डेले हिजोको जस्तो संस्कार हराएकोमा चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता खलबलाएर आम नागरिकलाई बितृष्णा फैलाउन खोज्नेहरुबाट समाज जोगाउनुपर्ने धारणा समेत व्यक्त गरे ।
पाण्डेले बागलुङको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको अस्पताल बनाउने निर्णय भएको सुनाउँदै गलकोट नगर अस्पतालको पनि स्तरोन्नती गरेर उपचारका लागि सहर पस्न नपर्ने वातावरण बनाउन पहल गर्ने प्रतिवद्वता समेत जनाएका छन् ।
२०६१ सालमा महायज्ञ गरेर खोलिएको यो क्याम्पस संचालनका लागि स्थानीयले १ करोड ९५ लाख सहयोग गरेका थिए । अहिले क्याम्पसले २० करोड संकलन गर्ने लक्ष राखेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले बताए । ८ दिनसम्म चल्ने महायज्ञको कथा बाचनका लागि कमल गौतम आएका छन् ।
क्याम्पस व्वस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको अध्यक्षता, बीरबहादुर बोहराको संचालन तथा नगर प्रमुख भरत शर्मा गैरेको स्वागतमा सम्पन्न कार्यक्रममा राजनीतिक दलको तर्फबाट कांग्रेस सभापति जित शेरचन र प्रमुख बाचक कमल गौतम तथा गलकोट समाज पोखराका सचिव बबिन गौतमले मन्तव्य राखेका थिए ।