बागलुङ, १० फागुन– राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक पर्यटनले देश समृद्व बन्न सक्ने बताएका छन् । बिहिबार बागलुङको पञ्चकोटमा निर्मित मुक्तिनाथ महाघण्टीको उद्घाटनपछि बोल्दै पौडेलले भने, ‘ पवित्र कालीगण्डकी किनारका हरेक क्षेत्र धार्मिक र पर्यटकीय क्षेत्र बन्न सक्छन् ।’
नदी सभ्यता जोगाएर धार्मिक पर्यटनमार्फत आर्थिक उन्नती गर्न उपायको खोजी गर्न सुझाउँदै पौडेलले कालीगण्डकी नदीको सभ्यता र जलको संरक्षण गर्ने अभियान चाल्नुपर्नेमा जोड दिए ।
नेपाल बहुधार्मिक, बहुसाँस्कृतिक समाजले बनेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले धर्म, संस्कृति तथा धार्मिक मूल्य र मान्यताको कारण समाज अनुशासित र सभ्य बनेको बताए । तपोभूमीको सभ्यताले नेपालप्रति धेरैको आस्था र विश्वास रहेको उनको भनाई थियो ।
पञ्चकोटमै स्थापना गर्न लागिएको १ सय ८ फिट अग्लो कलसको लागि अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ र धान्याञ्चल समेत आयोजना गरिएको हो । महायज्ञ फागुन २३ गतेसम्म चल्ने छ ।