बागलुङ, ८ चैत्र– पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।
विश्व सम्पदामा सूचीकृत विश्व शान्तिक्षेत्र, धार्मिक एवं पर्यटकीय नगरी लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी प्रदेश र धार्मिक एवं पर्यटकीय नगर बागलुङ नगरपालिकाबीच पर्यटन प्रवद्र्धन, असल अभ्यास र अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध कायम गरिएको समझदारीपत्रमा उल्लेख छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान र बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
भगिनी सम्बन्ध स्थापनाबाट दुई नगरपालिकाबीच कला तथा संस्कृतिको आदानप्रदान गर्न सहयोग पुग्ने बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठ र लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानले विश्वास व्यक्त गरेका थिए ।