बागलुङ, १४ चैत्र– नेकपा एमाले बागलुङले जिल्ला अधिबेशनको तयारी तिब्र बनाएको छ । आगामी चैत २९ र ३० गते सदरमुकाम बागलुङ बजारमा हुने जिल्ला अधिबेशनको तयारीलाई तिब्र पारिएको जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताए ।
अधिबेशनका लागि कार्यकर्ता र शुभेच्छुकहरुलाई तयार गर्न पार्टी नेताहरु वडादेखि टोल तहसम्म पुगेका छन् । जिल्लाका ८५ वटै वडामा अधिबेशनको सन्देश बोकेर नेताहरु टोल तहसम्म पुगेको केसीले जानकारी दिए ।
अधिबेशन उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ । नयाँ नेतृत्व चयन गर्ने अधिबेशनका लागि दस्तावेज तयार गर्ने, उद्घाटन सत्रलाई भव्य बनाउने र बन्द सत्रलाई व्यवस्थित बनाउनका लागि कामहरु भैरहेका छन् ।
अधिबेशनमा सहभागि हुने प्रतिनिधिको छनोट, निर्वाचन समिति, प्रतिवेदनहरुको तयारी लगायतका बिषयमा टुंगो लगाउन बिहिबार जिल्ला कमिटिको बैठक बस्दै छ । बैठकले अधिबेशनका लागि आवश्यक सबै प्रक्रिगत कामको जिम्मेबारी बाँडफाँड सहितका एजेण्डाहरुमा छलफल गर्ने छ ।