बागलुङ, २४ चैत– सुरक्षित बैदेशिक रोजगारीका लागि सूचना नै पहिलो आधार भएको सरोकारवालाले बताएका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रमका सहभागिले समयमा सूचना नपाएमा आर्थिक लागतभन्दा सामाजिक लागत बढ्ने समेत बताए ।
बैदेशिक रोजगारीमा जानुपूर्व बनाइने सबै कागजात सुरक्षित राख्ने, आर्थिक कारोवार गर्दा बैदेशिक रोजगारीको सूचना खुल्ने गरी व्यहोरा लेख्ने र बैंकमार्फत कारोवार गर्दा धेरै सुरक्षित बन्न सकिने कार्यक्रमकी व्यवस्थापक उमा शर्माले बताइन् ।
बैदेशिक रोजगारीमा जाँदा ठगिनेहरु अधिकांस हातबाटै नगद कारोवार गर्नेहरु भेटिएको र उनीहरुको रकम फिर्ता गर्ने आधार भेट्न कठिन भएको उनले अनुभव सुनाइन् । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको छ । उनीहरुले घरबाटै ठगिने अबस्था आइसकेको, सामाजिक संजालमा गरिएका बिज्ञापनको भरमा पैसा खर्चने पद्दती र घरपरिवारका सदस्य प्रयोग गरेर रकम ठगी गर्ने पद्दती बसेको समेत उनले बताइन् ।
नेपालबाट हरेक दिन २ हजार ७ सय जनासम्म बैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक छ । जानेहरुले श्रम स्विकृति लिनुपर्ने बाध्यता छ । तर सहि सूचना नपाएका, गन्तव्य देशको पहिचान नभएका र कुन कम्पनीमा काम गर्ने समेत नखुलेकाहरु ठगिने गरेका हुन् । सूचना अभावकै कारण सुखद हुनुपर्ने बैदेशिक यात्रा दुःखद र सामाजिक लागत महंगोमा पर्ने गरेको उनले सुनाइन् ।
बागलुङमा पनि बागलुङ, गलकोट, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा सामी कार्यक्रम लागू भएको छ । सोही अनुसार जिल्ला प्रशासन कार्यालयमा रहने गरी बानपाले आप्रबासी श्रोत केन्द्र स्थापना गरेको छ । उक्त श्रोत केन्द्रले जिल्लाभरबाटै राहदानी लिन आउने नागरिकको तथ्यांक राखेर आवस्यक सोधपुछ र परामर्श समेत दिने गरेको छ । तरपनि ठगिनेक्रम बढीरहेको छ ।
बैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या पनि बढ्दो छ । कागजात र प्रमाण नराख्नेहरुको मृत्यु भएपछि शव ल्याउन पनि कठिन भएका छन् । कतिपयको आवस्यक कागजात भएकोले उचित क्षतिपूर्ति समेत दिलाउन सकिएको केन्द्रका संयोजक मीनप्रसाद उपाध्यायले बताए ।
सामीका कार्यक्रम अधिकृत शिव रेग्मीका अनुसार गतबर्ष बागलुङका १४ हजार ६ सयले श्रम स्वृकृति लिएर बिदेश गएका छन् । ती मध्ये ७ सय जना महिला छन् । चालुबर्षको फागुन मसान्त सम्ममा १२ हजार बढी गैसकेकोले त्यो संख्या बढ्ने अनुमान गरिएको छ ।
नेपालले २०५१ सालदेखि बैदेशिक रोजगारीको तथ्यांक राख्ने गरेको शर्माको प्रस्तुतीमा उल्लेख छ । त्यसपछि अहिलेसम्म ७० लाख नेपालीको श्रम स्वीकृतिको आधारमा बिदेश गएको देखिएको हो । त्यसबाहेक पछिल्लो समय युरोप, अमेरिका लगायतका देशमा पनि जानेहरु बढेका छन् ।
श्रम स्वीकृति नलिएकाहरुको हकमा केन्द्रले क्षतिपूर्ति लागयतको काम गर्न सक्दैन । बिदेशमा काम गर्न गएकाहरुको पनि फरक देशको कानून अनुसारका कागजात, प्रमाण र प्रक्रिया आवस्यक पर्ने भएकोले सोही अनुसारको पहल भैरहेका छन् । त्यसबाहेक सीप नसिकी बिदेशमा जाँदा दुर्घटनामा पर्ने देखेपछि सामीले सीपमूलक तालिम दिएर मात्र जाने प्रक्रियामा लगानी गरेको छ । चालुबर्ष सामीले ३ सय ९ जनालाई निशुल्क सीपमूलक तालिम दिएको रेग्मीले जानकारी दिए । बैदेशिक रोजगारीमा ठगिएका १ सय १० जनालाई केन्द्रमार्फत मुद्दा अगाडि बढाएर आवस्यक क्षतिपूर्तिको व्यवस्थापन गरिएको समेत बताइएको छ ।