पोखरा/झाँकी, ¥याली, पञ्चेबाजा, जातजातीगत भेषभुष, कला संस्कृतिको प्रदर्शनसँगै २७ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित महोत्सव आइतबारदेखि शुरु भएको हो । महोत्सवको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र सहरी विकासमन्त्री कुलमान घिसिङले आईतबार औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरे ।
महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिँर्चा र सहरी विकासमन्त्री कुलमान घिसिङले पोखरा पर्यटनको हब भएकाले यससँग अन्य सहर र देशको कनेक्टीभिटी बढाउनुपर्ने बताए । पोखरालाई सडक र हवाई दुबै मार्गबाट कनेक्टीभिटी सहज बनाउनुपर्ने उनको भनाइ थियो । उनले पोखराको गहना र पर्यटकीय केन्द्र भनेकै फेवाताल भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । ‘स्थानीय र प्रदेश सरकारले फेवातालको संरक्षणको प्रयास गरिरहेको थाहा पाएँ,’ उनले भने,‘यसमा संघ सरकारको पनि भूमिका हुनुपर्छ, यसका लागि म प्रयास गर्छु ।’
फरक प्रसङ्गमा मन्त्री घिसिङले फागुन २१ गतेको चुनावलाई सफल बनाउनु अहिलेको सरकारको मुख्य काम भएको बताए । चुनावले देशलाई स्थायीत्वतर्फ लैजाने भन्दै उनले भने,‘फागुन २१ मा चुनाव हुन्छ र हुनुपर्छ ।’ उनले चुनाव नभए देश अस्थिरतामा जानेछ चेतावनी दिए । उनले चुनाव हुँदैमा समस्या समाधान नहुने बरु चुनावपछिको सरकार कसको हो भन्नेले महत्वपूर्ण अर्थ राख्ने उनको भनाई छ । चुनावमा जनता पनि सचेत हुनुपर्ने उनले बताए । चुनाव पछि देशले आर्थिक परिवर्तनमा फड्को मार्नुपर्छ र त्यसका लागि देशमा सहि नेतृत्व आवश्यक रहेको भन्दै उनले अगाडि थपे, ‘संसद र सरकारमा सहि व्यक्तिलाई चुन्नुहोला । यसमा विशेष ध्यान दिनुहोला ।’
गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटनको विकासका लागि प्रदेश सरकार लागिरहेको बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट अन्र्तराष्ट्रिय उडान नियमति बनाउनका लागि पहल गर्न मन्त्री घिसिङलाई आग्रह गरे । उनले भने,‘जियो पोलिटिक्सको कुरा के हो हामीलाई थाहा भएन र मतलब पनि भएन, तर पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्ने वातावरण मिलाउन म आग्रह गर्छु ।’
‘सडकमै खाऊँ, सडकमै नाचौं, सडकमै रमाऊँ’ भन्ने नाराका साथ शुरु भको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको अवसरमा लेकसाईडकको खहरेदेखि अम्बोटसम्मको करीब साढे ३ किलोमिटर क्षेत्रमा सडकमै खानाका परिकारहरु व्यवसायीहरुले पस्किनेछन् । महोत्सव स्थल लेकसाईडलाई अहिले दुलहीझैं सिंगारिएको छ । जहाँ सडक क्षेत्रको आकासमा ध्वजापताका लगाइएको छ भने बिजुली वत्तीले धपक्कै बालिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।
महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने छुट्टाछुट्टै प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहने कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिए । त्यस्तै, महोत्सव अवधीभरमा पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीका विषय केन्द्रीत अन्र्तक्रिया कार्यक्रम पनि हुने उनले बताए ।