पोखरा/पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र रहेका अतिक्रमित संरचना हटाउन फेरी डोजर चलाएको छ । एक हप्ताअघि सात दिने सुचना जारी गरेको महानगरपालिकाले मिति सकिएलगत्तै बिहिबारबाट डोजर लगाइ खोलाघरका संरचना भत्काउन सुरु गरिएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले व्यक्तिको संरचना भत्काउन समय दिएको र त्यो सकिएसंगै नभत्काएका संरचना महानगरपालिकाले भत्काउन सुरु गरेको बताए । उनका अनुसार महानगरपालिकाले केही संरचना हटाइसकेपछि सम्बन्धित घरधनी तथा संघ–संस्थाहरूले आफ्नै तर्फबाट संरचना हटाउन समय उपलब्ध गराइदिन गरेको अनुरोध पछि समयसीमा तोकी आफैं संरचना हटाउने समय दिएको थियो ।
तर, तोकिएको समयसीमा, थप गरिएको समय तथा भोटेकोशीमा आएको बाढी र बर्खालाई ख्याल गर्दै पुनः म्याद दिएको बताएका छन् । सामाजिक सञ्जालमार्फ जानकारी दिदैँ मेयर आचार्यले समन्वय र समझदारी गर्नका लागि आग्रह गरेका छन् ।