बागलुङ, २८ मंसिर – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महाधिवेशनमा बागलुङका आठ जना नेताहरुले केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् । महाधिवेशनमा पदाधिकारीमा भने कसैले पनि उमेदवारी दिएनन् ।
यसअघि दुई पटकसम्म केन्द्रीय सदस्य भइसकेकी रत्ना शेरचनले तेस्रोपटक पनि केन्द्रीय सदस्यमै उम्मेदवारी दिएकी छन् । पदाधिकारी लड्ने चर्चा चलेपनि अन्तिममा उनी शेखर कोइराला प्यानलको जनजाति महिलामा उम्मेदवार बनेकी छिन् । पदाधिकारीमा बढी प्रतिस्पर्धा देखेपछि सदस्यमा उमेदवार बनेकी हुन् ।
त्यस्तै, पूर्व सभापति मणिभद्र शर्माले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । तर, उनी कुनैपनि समूहमा परेका छैनन् । सभापति शेरबहादुर देउवाको फोटोसँगै उम्मेदवारीको प्रचार गरे पनि कँडेल देउवाको समूहमा परेका छैनन् । उनले खसआर्य कोटामा उम्मेदवार बनेको प्रचार गरेका छन् । देउवाको टिममा खसआर्यमा कँडेलको नाम सूचिकृत छैन ।
बरु शेखर कोइराला प्यानलमा बागलुङका अन्य नेता पनि परेका छन् । पूर्व सभापति प्रकाश शर्मा पौडेल शेखर प्यानलको भूगोल तर्फको केन्द्रीय सदस्यमा परेका छन् । त्यस्तै टेकराज पौडेल खुला केन्द्रीय सदस्यमा कोइराला प्यानलमै
छन् । पूर्व सांसद नरबहादुर पुन (निरज) पनि कोइराला प्यानलमा छन् ।
देउवा प्यानलमा पूर्व राज्यमन्त्री चम्पाखड्का परेकी छिन् । उनी खसआर्य महिलाको कोटामा केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् । उनीहरुबाहेक भीम श्रीषले आदिवासी जनजाती खुला, प्रेमबहादुर छन्त्याल अल्पसंख्यकतर्फ उम्मेदवार भएका छन् । यसअघि उम्मेदवारी घोषणा गरेर पनि कोइरालालाई समर्थन गर्दै शकुन्तला शर्माले नाम फिर्ता लिएकी थिइन् । उम्मेदवारी घोषणा गरेर फिर्ता हुनेमा गलकोट नगर उपप्रमुख रेणुका काउचा पनि हुन् । भरत शर्मा गैरेले पनि केही दिन प्रचार गरेका थिए ।
समग्रतामा हेर्दा बागलुङमा दुवै प्यानलबाट पनि सदस्य परेका छन् । केही व्यक्ति चाहेर पनि प्यानलमा अटेका छैनन् । तर पदाधिकारीमा दाबी गर्नेहरु नभएका हुन् । ‘एकदुई पटक केन्द्रीय सदस्य भइसकेकाहरु पदाधिकारीमा गए राम्रो हुन्थ्यो, तर दाबी नगर्दा सधैं पछि पर्ने हुन्छ,’ महाधिवेशन प्रतिनिधि विष्णु पौडेलले भने, ‘कतिपयले चर्चामा आउनका लागि मात्रै उम्मेदवारी घोषणा गर्ने र पछि फिर्ता गर्ने चलन रहेछ ।’
एकदुई पटक चर्चामा आएर पछि हटेकाहरुले पछिल्लो चरणमा चुनाव जित्ने गरेको समेत उनले बताए । यो पटक भने कसले चुनाव जित्छ त्यो परिणाम कुर्नैपर्ने अवस्था छ । सोमबार मतदान भएपनि परिणाम आउन अझै तीन दिन लाग्ने अनुमान गरिएको छ । केही सामाजिक अगुवाले जिल्लाका सबै उम्मेदवारको प्रचार गरेपनि मतदाताबीच उनीहरुको प्रचार पुगे/नपुगेको प्रष्ट छैन ।
बागलुङबाट यसअघि पनि कांग्रेसबाट कहिल्यै केन्द्रीय सदस्यबाहेक माथिल्लो तहमा पुगेका छैनन् । अन्य दलमा भने केन्द्रीय अध्यक्षदेखि केही पदमा समेत पुगेका इतिहास छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कम्युनिष्ट नेताहरु रामसिंह श्रीष, परी थापा लगायतका नेता बागलुङका हुन् । कांग्रेसको इतिहासमा भने गण्डकी प्रदेशबाटै पार्टीको प्रमुख भएका छैनन् । माथिल्लो पदमा पुगेर पनि अन्तिममा पछि पर्ने अवस्था कांग्रेस नेताहरुमा परेको छ ।
क्षेत्र र जिल्ला तहबाटै गुट र उपगुटमा बाँडिदा पदमा जाने अवस्था नआएको पूर्व सभापति हरिप्रसाद श्रेष्ठले बताए । ‘अगाडि बढ्न सक्ने क्षमता भएकालाई हामीले गुट र उपगुटका नाउँमा हराउने प्रवृत्ति राखेका छौं,’ उनले भने, ‘त्यसैले माथिल्लो पदमा पुग्न खोज्दा पनि आफ्नै जिल्लाबाटै असहयोग हुने गरेको छ ।’ श्रेष्ठ अघिल्लो महाधिवेशनमा प्रतिनिधिमै हारेका थिए भने यो पटक गण्डकी प्रदेशको उपसभापति लडेर पनि हारे । उनको सबै प्यानलले निर्वाचन जित्दा श्रेष्ठमात्रै थोरै मतले पराजित भएका थिए ।