काठमाडौं, १८ असोज– पाँच दलीय गठबन्धनको बैठक आज पनि बैठक बस्दै छ । सिट बाँडफाँडका लागि सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिइन् ।
उहाँका अनुसार आज बिहान सुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ । हिजो साँझसम्म सिट बाँडफाँटमा ठोस प्रगति हुन नसकेको उहाँको भनाइ छ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।
सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दुई महिना पुगिसक्दा पनि गठबन्धनले भागबन्डा मिलाउन सकेको छैन ।
हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई थोरै सिटमा सीमित गर्न लागिएको भए त्यो स्वीकार्य नहुने स्पष्ट अडान राख्दै त्यस्तो अवस्थामा गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।