८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
सम्पादकीय

बडादशैंको हार्दिक शुभकामना


जनमञ्च संवाददाता
  • १९ असोज २०७९ , बुधबार

  • बडादशैंको हार्दिक शुभकामना

    शारदीय पर्व बडादशैं चलिरहेको छ । घटस्थापनाको दिनदेखि यस वर्षको दशैं सुरु भएको हो ।दशैंमा  नारी शक्तिको उपासना गरिन्छ । देवीको उपासना गरिने यो पर्व असत्यमाथि सत्यको जितको रुपमा मनाइन्छ ।

    हिन्दु धर्मावलम्बीहरुले नवदुर्गा भवानीको विशेष पूजाआजा र उपासना गरेर दशैंलाई घर घरमा भित्र्याएका छन् । घटस्थापना दिन जमरा राखेर सुरु भएको दशैंको उमंग नौ दिनसम्म नवदुर्गाको पूजा र उपासना गरेर अनि दशौं दिनमा मान्यजनको हातबाट टीका लगाएपछि औपचारिक रुपमा समाप्त हुन्छ ।

    मुख्य दिन अर्थात् दशमीका दिन आज देवीको प्रसाद स्वरुप मान्यजनबाट जमरा र टीका लगाइने यो पर्वले आत्मियता बढाउँछ र स्नेह साँट्ने अवसर दिन्छ । हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड भएकाले पनि यो धर्म मान्नेहरुको बाहुल्यता रहेको हाम्रो देशमा यसलाई विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।

    दशैंको शास्त्रीय महत्व एकातिर छ भने सामाजिक र आर्थिक दृष्टिले पनि यो पर्व विशेष मानिन्छ । देश विदेशमा रहेका आफन्तहरु एकैठाउँमा जम्मा हुनु, खुसी साँट्नु तथा मीठो–मसिनो खानु यो पर्वको महत्वपूर्ण विशेषता हो ।

    बजारमा दशैंको लागि आवश्यक सामाग्री किनमेल गर्ने र कमाइ गर्न देश विदेश गएका सवै दशैं पर्वको लागि घर फर्किने गर्दछन् । जो दशैंमा घर पÞmर्कन पाउंदैनन उनीहरु पनि परिवार सम्झेर टेलिफोन अथवा विभिन्न सञ्चारमाध्यम मार्फत परिवारसग सम्पर्क गरी दुखसुख बाँड्ने गर्दछन् ।

    विदेशमा रहेका र कामविशेष र अन्य कतिपय कारणले स्वदेश फर्किन नपाएका नेपालीहरुले पनि जेजसरी सम्भव हुन्छ त्यसरीनै विदेशमै रहेर पनि दशैं मनाइरहेका हुन्छन ।

    धार्मिक हिसावले दशैं हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड हो । तर, नेपालमा अहिले दशैं सबैको साझा पर्व र एउटा नेपाली संस्कृतिको रुपमा विकास भैरहेको छ । दशैं हाम्रो परम्परा र सँस्कृति हो । यसको आफ्नै महत्व छ । तर पछिल्ला दिनहरुमा दशैंलाई पनि आधुनिकता र परिवर्तनको नाममा उच्छृङ्खल बनाईदै गएको आभाष भइरहेको छ ।

    अनावश्यक तामझाम र तडकभडक गरेर दशैं मनाउने गरेको पाइन्छ । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा गरेको पनि देख्न र सुन्न पाईन्छ । चाड मनाउने नाममा रक्सी र मासुका लागि हजारौं खर्चिने, गहना र लत्ता कपडामा आफ्नो आम्दानीले नभ्याए पनि ऋण गरेर खर्च गर्ने प्रवृत्ति बढेको छ । यसले पर्वको नाममा बिकृति समेत बढाएको छ ।

    यो पर्वलाई तडकभडक र अनावश्यक तामझाम गरेर भन्दा पनि आपसी सहयोग र भाइचारा बढाउने अवसरको रुपमा लिनुपर्दछ । चाडपर्व मनाउने नाममा गरिने अनावश्यक तडकभडक र अस्वस्थ प्रतिष्पर्धाले कसैको हित गर्दैन ।

    दशैंलाई तडकभडक र फोहोरी होइन, यसलाई सांच्चै सबै नेपालीले मान्न सक्ने गरी सरल र सहज बनाउनु आवश्यक छ ।
    हाम्रो परम्परा र सँस्कृतिलाई बचाउनुपर्दछ, तर यसलाई पर्वको रुपमा मनाउँदा आफ्नो आर्थिक अवस्थालाई पनि ख्याल गरिएन भने यसले हामीलाई दशैं नभएर दशाको रुपमा परिणत गरिदिन सक्छ ।

    दशैं, वडादशैं, दशहरा, विजयादशमी आदि नामले प्रचलित छ । यो नेपालीहरुको प्रमुख पर्व पनि हो । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा हिन्दूहरुले विजयादशमी पर्व मनाउने प्रचलन रहँदै आएको छ ।

    दशैंलाई एउटा साँस्कृतिक महत्वको चाडका रुपमा स्वीकार गरी यसको गरिमा बृद्धि हुनेगरी बिशुद्ध मनोरञ्जनात्मक रुपमा मनाउन सके यसको महत्व र गरिमा अझ बढ्दै जानेछ ।

    दशैं विजय र आनन्दको उत्सव हो । असत्यमाथि सत्यको विजय, दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कुशासनमाथि सुशासनको विजय, अन्यायमाथि न्यायको विजय, हिंसामाथि अहिंसाको विजय, असुरी शक्तिमाथि दैवीय शक्तिको विजय नै विजयादशमी मनाउनुको मुख्य उद्देश्य हो ।

    अवका दिनहरुमा देखासिकी र आडम्बरयुक्त दशैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्दै जानुपर्दछ । यो बर्ष (वि.सं.२०७९) को विजयादशमीे सबै नेपालीहरुका लागि आपसी प्रेम र सद्भाव बाँड्ने अवसर बन्न सकोस । बडादशैंको अवसरमा हामी हाम्रा सवै पाठक, सहयोगी, विज्ञापनदाता एवं सवै नेपाली दिदिवहिनी तथा दाजुभाईहरुमा जनमञ्च परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend